लोकेन्द्र निरासी, बुर्तिबाङ २०७७ असार १३ । कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पठाएको १५ दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा निसीखोला गाउँपालिकाका क्वारेन्टाइनमा बसेकाहरु आक्रोशित भएका छन् । निसीखोला गाउँपालिकाका विभिन्न वडाका क्वारेन्टिनमा बसेका व्यक्तिहरुको पीसीआर परीक्षणको रिपोर्ट लामो समय वितिसक्दा समेत नआउँदा उनीहरु आक्रोशित भएका हुन् । उनीहरु गत जेठ महिनादेखि नै भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर गाउँपालिकाले बनाएका विभिन्न क्वारेन्टिनहरुमा बस्दै आएका छन् ।
आहिलेसम्म क्वारेन्टिनमा राखिएका जम्मा ७ सय ३७ जनामध्ये अरुलाई परीक्षण गरेर घर पठाइएको र बाँकी १ सय ८१ जना अझै पालिकाका विभिन्न क्वारेन्टिनमै रहेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । केहीको लामो समयसम्म परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टिनमा राख्न निकै समस्या आएको पौडेलको भनाइ रहेको छ ।
पालिका भित्रका सबै वडाका विभिन्न क्वारेन्टिनमा बसेका व्यक्तिहरु मध्ये अहिले सम्म पहिलो चरणमा १ सय २४ र पछिल्लो चरणमा २ सय ५ गरी कुल ३ सय २९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पोखरा प्रादेशिक प्रयोगशालामा पठाइएको भएपनि ५९ जनाको रिपोर्ट अझैसम्म आउन नसकेको निसीखोला गाउँपालिकाका स्वास्थ्य संयोजक टोप बहादुर चन्दले बताए । उनले रिपोर्ट आउन बाँकी रहेका ५९ जनाको पीसीआर परीक्षणका लागि गत जेठ ३० र ३१ गते नै स्वाव संकलन गरी पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट नआएको जानाकारी दिए ।
उनीहरुभन्दा पछाडि असार ४ गते स्वाब संकलन गरी पठाइएका व्यक्तिहरुको रिपोर्ट आइपुग्दा समेत ५९ जनाको भने अझैसम्म आएको छैन । जसका कारण उनीहरु क्वारेन्टिन भित्रै आक्रोशित बन्न पुगेका हुन् । क्वारेन्टिनमा बसेकाहरु मध्ये कसैको २१, २२ दिन र कसैको २५ दिन बितिसक्दा सम्म पीसीआर रिपोर्ट आएको छैन । आफूहरु यतिका लामो समय क्वारेन्टिनमा बसिरहनु परेकाले निकै कष्ट व्यहोर्नु परेको उनीहरुको गुनासो रहेको छ । उनीहरुले आफूहरु घर जान पाउनुपर्ने माग राख्दै आएका छन् ।
प्रादेशिक प्रयोगशाला पोखरामा स्वाब परीक्षणको चाप बढेपछि पीसीआर परीक्षणका लागि काठमाण्डौ पठाइएकाले रिपोर्ट आउन ढिला भएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
निसीखोला गाउँपालिकामा अहिलेसम्म ७ जनाको कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जसमध्ये २ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी २ जनाको धौलागिरी अस्पताल र ३ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।