Sorry, that menu does not exist.
 

निसीखोलाको हुल्दीमा अवैध गर्भबाट जन्माएर फालिएको शिशुको जीवितै उद्धार !

लोकेन्द्र निरासी बुर्तिबाङ, २०७७ असार १३ । निसीखोला गाउँपालिका वडा नं.१, हुल्दीमा बेवारिसे अवस्थामा अलपत्र फालिएको एक शिशुको जीवितै उद्धार गरिएको छ । स्थानीयले यसलाई अवैध गर्भबाट जन्माएर फालिएको आशंका गरेका छन् ।

आज दिउँसो करिब साढे १२ बजेको समयमा नवजात शिशु रोइरहेको थाहा पाएपछि स्थानीय मनसरा वि.क.ले देखेपछि छिमेकीहरुलाई खबर गरेकी थिइन् । त्यसपछि स्थानीयबासीले ईलाका प्रहरी कार्यालय झिवाखोला र बुर्तिबाङमा प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनीहरुले स्थानीय जनप्रतिनिधिहरुलाई समेत जानाकारी गराएका थिए ।

स्थानीयवासीले खबर गरेपछि प्रहरीको टोली सहित आफूहरु घटनास्थलमा पुगेर उक्त बेवारिसे शिशुको उद्धार गरिएको निसीखोला वडा नं.२ का वडाअध्यक्ष कुविर वि.क.ले बताए ।

अहिले ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीको नेतृत्वको टोली घटनास्थलमा पुगी आवश्यक जाँचबुझ गरी उक्त नवजात शिशुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुराउन लागिएको छ । अहिले शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।

मान्छेले समेत झ्याप्प राम्ररी देख्न नसक्ने डाँडाको नजिकै रुखको झ्याङमा फेला परेको उक्त शिशु कुनै महिलाले अवैध गर्भबाट जन्माएर फालेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएकोे छ ।

छोरालाई जन्म दिएर कठोर मन गरी जिउँदै रुखको झ्याङमा फालेर फरार हुने ती महिला को होला ? यसबारे व्यापक खोजतलास भइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

7 Comments