मन्दिप निउरे ताराखोला २०७७ असार १६ । ताराखोलामा परम्परागत रुपमा मनाउदै आएको प्रशिद्ध असारेमेला यस बर्ष नमनाइने भएको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण देशमा लक डाउन जारी रहेकोले असारे मेला स्थगित भएको असारे युवा क्लवले जनाएको छ ।
वर्षौंदेखि जनजाति समुदायको अगुवाइमा मनाइँदै आएको यो मेला असारे युवा क्लबले विविध कार्यक्रमसहित मनाउदै आएको छ । विशेष गरी मगर समुदायका बासिन्दाले खेतबारीमा अन्नपात रोपी सकेपछि असारे बस्ने चलन रहेकोमा पछि आएर मेलामा परिणत भएको असारे युवा क्लवका अध्यक्ष प्रकाश रोकाको भनाइ छ ।
यस मेलामा बुढापाकाहरूले अन्नबाली राम्रो उब्जाउ होस् भनी असारे पूजा गर्ने र मेला बस्ने प्रचलन रहिआएको छ । बिशेष गरि परम्परागत रुपमा जनजातिहरुले मनाउदै आएको असारे मेला पछिल्लो समय ताराखोलाकै साझा पर्वको रुपमा सबै जातजातिहरुले सामुहिक रुपमा मनाउने गरिन्छ ।
मेला शुरु हुनु पूर्व प्रत्येक बर्ष असार महिनाको तेस्रो अथवा चौथो सोमबार र मंगलबार ताराखोलाका मगर जातिहरुले वडा न ४ तारागाउँमा बिधिवत रुपमा असारे पुजा गर्ने अविवाहित तन्नेरीहरुले लिङ्गे पिङ थाप्ने र अविवाहित युवतीहरुले खाजा लिएर जाने प्रचलन रहेको मगर भैली टोलीका संयोजक झक बहादुर घर्तीर्ले ईबागलुङलाई बताए ।
पुजा आजा पछि २ दिन सम्म बाली नाली नष्ट नहोस भनेर खेत बारीमा काम गर्न नहुने जसलाइ कनट बस्ने पनि भनिन्छ । फुर्सदको समयमा सबै मिलेर रमाइलो गर्न असारे मेलाको सुरुआत भएको उनको भनाइ छ । असारे बस्दा पूजाआजा गर्ने, जनजाति समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, एकआपसमा शुभकामना साट्ने जस्ता क्रियाकलाप गरिने प्रचलन रहि आएको छ ।
फाईल तस्वीर ।