प्रकाश छन्त्याल, बरेङ २०७७ असार २१ । हाल सम्म कालोपत्रे सडक नरहेको बागलुङको बरेङ गाउँपालिकाले चालु बर्षमा गाउँपालिकामा थोरै भएपनि कालोपत्रे सडक बनाउने योजना बनाएको थियो । १ करोड ३० लाख बराबरको स्थानीय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत मोटर बाटो बजारमा ९ सय मिटर सडक कालोपत्रे गर्ने योजना पनि पुरा हुन सकेको छैन । कालोपत्रे गर्ने भनिएको सडक फराकिलो बनाएर नालीको काम त चलिरहेको छ तर कोविड (१९ को लकडाउनका कारण मजदुर हिँडेपछि कामको गति रोकिएको रेड स्टार निर्माण सेवा संचालक दान बहादुर थापाले बताए ।
बर्षको पछिल्ला केहि दिनमात्रै बाँकी रहँदा यो बर्ष कालोपत्रेको काम नसकिने गाउँपालिकाका प्राबिधिक प्रमुख कृष्ण थापाले बताएका छन्। करिव दुई करोड बजेट रहेको यो सडकको बाँकी काम म्याद थपेर गर्ने वा नगर्ने भन्ने बिषयमा गाउँपालिकाले केन्द्रको निर्देशन कुरेको छ ।
बरेङको यो बर्ष कालोपत्रे देख्ने सपना भने अधुरै रहने देखिएको छ। यो बर्ष थोरै भएपनि सडक कालोपत्रे हुने भनिए पनि कोविड ( १९ का कारण प्रवाभित भएको बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले बताएकी छन् । के पि निर्माण सेवा पोखराले जिम्मा लिएको र रेड स्टार निर्माण सेवाले निर्माण गर्दै गरेको बरेङ बजारको मोटर बाटो नाली बनाउने काममा मात्रै सीमित रहेको छ ।
बजारबासीको घरहरु मापदण्ड अनुसार भत्किएका छन भने बाटोमा कालो पत्रेको नाममा हिलाम्मे भै पैदल आवत जावतमा समेत समस्या भइरहेको छ । खानेपानीको समस्या रहेको छ भने मापदण्ड अनुसार बाटो निर्माणका लागि भत्काईएका घरहरु निर्माणाधीन अवस्थामा नै रहेका छन । निर्माण सेवाले म्याद थपको निवेदन दिए पनि म्याद थप गर्ने या नगर्ने केही जानकारी केन्द्रले नदिएको बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले ईबागलुङलाई बताए ।
One Comment