Sorry, that menu does not exist.
 

म्याग्दीमा पहिरोले पाँच घर बगायो, नौ जना वेपत्ता, रहुगंगाको बेलिव्रिज बगाउदा मुस्ताङ यातायात प्रभावित !

रामप्रसाद घिमिरे, म्याग्दी, २०७७ असार २६ । लगातारको बर्षासँगै पहिरो जाँदा गएराति म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा नौं जना वेपत्ता भएका छन् । पाँच वटा घर पहिरोले बगाएको छ । बेनी जोमसोम सडकको रहुगंगाको बेलिब्रिज पनि बाढीले बगाएको छ ।

धवलागिरी गाउपालिका–६ मराङको रिखामा सात जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएका मराङका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाले जानकारी दिए। उनका अनुसार भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाउँदा भिमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । भिरालो जमिनमा बस्ति रहेको घण्टीबाङ गाउँ पहिरोको उच्च जोखिममा रहेकोले त्यस गाउँका १३ परिवार पहिरो बिस्थापित भएको स्थानीयलाई उद्धृत गर्दै ढकाले बताए । प्रजिअ ढकालले उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर माग गरिएको जानकारी दिएका छन् । अहिले पनि भीषण पानी परिरहेको हुनाले उद्धार कार्यमा असर परेको बताईएको छ ।

यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले सोमनाथ पौडेलको घर बगाउदा दुई जना वेपत्ता भएका स्थानीय थमन जुग्जालीले बताए । सो पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पुर्याएको छ । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको छ भने घरका मानिसहरुले भागेर ज्यान बचाएका र भाग्ने क्रममा १ जना घाइते भएका छन् । यसैबीच रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज समेत बगाएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी ढकाल संग सहकर्मी रामप्रसाद घिमिरेले गरेको कुराकानी

तस्वीर सौजन्य सुरज केसी, म्याग्दी ।
थप विवरण आउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !