रामप्रसाद घिमिरे, म्याग्दी २०७७ असार २८ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ६ को मराङ, मालिका गाउँपालिका ७ को बिम र रघुगङ्गा गाउँपालिका ६ को ठाडाखानीमा शुक्रबारराति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । धवलागिरिको मराङका तुल बहादुर केसी, सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, १८ वर्षीय प्रकाश केसीको शव भेटिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए।
यसैगरी ३३ वर्षीया हिरामती जुग्जाली, ७ वर्षीया करिश्मा जुग्जाली, ५ वर्षीया कन्चन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २० वर्षीया दिमा जुग्जाली, उनको ४ वर्षीया छोरी दिप्ती जुग्जाली र १ वर्षीय छोरा दिवान जुग्जालीको पनि शव भेटिएको प्रनाउ कुँवरले बताए ।
त्यस्तै मालिकाको बिमका ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीया इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विरबहादुर नेपाली, उहाँको ३ महिनाको छोरी निशा नेपाली, विष्णु नेपाली र सन्दिप नेपालीको शवे भेटिएको प्रहरीले जनाएको छ । रघुगङ्गाको ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको खोलाले बगाउँदा मृत अवस्थामा शव भेटिएको प्रनाउ कुँवरले बताए ।
One Comment