—लोकेन्द्र निरासी
आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यको संरक्षण र विकासमा महत्वपूर्ण योगदान रहेको छ । वि.सं. १८७१ साल असार २९ गते तनहुँको रम्घा चुँदीबेसीमा जन्मिएका आचार्य नेपाली कविताको प्राथमिककालीन भक्तिधाराका कविहरुमध्ये सर्वाधिक चर्चित र प्रतिभाशाली कवि हुन् । वि.सं. १८९१ सालतिरदेखि नै कविता लेख्न आरम्भ गरेका भानुभक्तले कविताको फुटकर रुपदेखि महाकाव्यसम्म रचना गरेका छन् ।
आदिकवि भानुभक्त आचार्यले एक सामान्य व्यक्ति घाँसीले कुवा खनेर नाम राख्ने कुराबाट प्रेरणा पाएपछि आफूले पनि साहित्य सिर्जना गरी नाम राख्ने अठोट गरेका थिए भन्ने भनाइ रहेको पाइन्छ । यसरी नै उनले सानैदेखि साहित्य सिर्जनातर्फ आफूलाई अभ्यस्त बनाउँदै गएका थिए । भानुभक्त आचार्यका प्रकाशित प्रमुख कृतिहरुमा रामायण (१९१०), भक्तमाला (१९१०), प्रश्नोत्तरमाला (१९१०), बधूशिक्षा (१९९२), रामगीता (१९२५) आदि रहेका छन् भने अन्य थुप्रै फुटकर कविताहरुको समेत रचना गरेका थिए । यी मध्ये रामायण अनुवाद र मौलिकताको कुशल संयोजन गरिएको एक उत्कृष्ट रचना हो । नेपाली साहित्यको प्रथम महाकाव्य मानिने भानुभक्तको रामायण संस्कृतको अध्यात्म रामायणमा आधारित भएर पनि नेपालीपनले ओतप्रोत रहेको छ । साहित्य र सामाजिक दुवै दृष्टिले उत्कृष्ट र लोकप्रिय मानिएको यो कृतिले भानुभक्तलाई नेपाली भाषाकै एकीकरणकर्ताको उच्च स्थान दिन सफल भएको छ । यसमा मर्यादा पुरुष रामलाई आदर्श पुरुष एवं नायकको रुपमा उभ्याएर नेपाली हिन्दू आदर्शको महिमा गरेका छन् । यो कृति अनूदित भएर पनि नेपाली मौलिकताले परिपूर्ण छ । यस कृतिमा प्रयुक्त भक्तिरस मूलतः रामकथा र हिन्दू वेदान्त दर्शनको कुशल संयोजन रहेको छ ।
कवि भानुभक्त आचार्यले भक्तिभावका साथै सामाजिक मूल्य मान्यता, नैतिकता, पारिवारिक समस्या आदिलाई समेत आफ्ना रचनाहरुमा मार्मिक एवं सान्दर्भिक रुपमा समेट्न सफल भएका छन् । उनले बधूशिक्षामा बुहारीहरुलाई घर व्यवहारसम्बन्धि नैतिक शिक्षा समेत दिएका छन् । यो तात्कालीन समाजको लागि अझै बढी महत्व थियो । हास्य एवं विनोदी स्वभावका भानुभक्तले तत्कालीन शासन व्यवस्थाप्रति व्यङ्ग्य प्रहार समेत गरेको पाइन्छ । उनले आफ्ना कृतिहरुमा सामाजिक नैतिक पक्षलाई बढी जोड दिनुका साथै युगीन जीवनका यथार्थ अनुभूतिहरुलाई सहज एवं स्वभाविक रुपमा अभिव्यञ्जित गरेको देखिन्छ । उनका फटकर रचनाहरुमा पनि सामाजिक नैतिक आदर्श, औपदेशिक भाव, सामाजिक व्यङ्ग्य, शिष्ट श्रीङ्गार, प्रकृति चित्रण, जातीय गौरव, देशप्रेम र राष्ट्रभाव पाउन सकिन्छ । व्यवहार कुशल भानुभक्तले प्रशासनिक कामकाजमा समेत कवितात्मक भाषाको प्रयोग गर्ने गरेको पाइन्छ । उनका रचनाहरुमा सामाजिक आदर्श, भक्तिभाव र श्रीङ्गारिकताको कुशल संयोजन पाइन्छ । परम्परागत हिन्दू आदर्श, नैतिकता, धर्म, संस्कार, संस्कृति र रीतिरिवाजप्रति गहिरो अनुराग राख्ने भानुभक्तका रचनाहरुमा नेपाली मौलिकताको वैशिष्ट्यता पाउन सकिन्छ ।
नेपाली साहित्यमा प्राथमिककालीन कविहरूमध्ये आदिकवि भानुभक्तलाई नै श्रेष्ठ बनाएको ‘रामायण’ महाकाव्यले नै हो । संस्कृत साहित्यबाट अनुदित भएपनि उनको मौलिकता र उच्च कोटीको भावानुवादले यसलाई उत्कृष्ट काव्यकृतिको रुपमा चिनायो । सायद त्यस समयमा नेपाली मौलिकता झल्कने रामायण जस्तो महाकाव्य नलेखका भए भानु सर्वश्रेष्ठ प्रतिभा हुने थिएनन् होला ।
उनले पद्य कविता र ‘भर्जन्म घाँसतिर मन् दिइ‘’, ‘बालाजी देख्याँ‘’, ‘अमरावति कान्तिपुरी नगरी‘’, ‘रोज् रोज् दर्शन पाउँछु’‘, ‘बिन्ती डिट्ठा–विचारीसित‘’ आदि फुटकर रचनाहरू हेर्दा पनि वीर धाराका यदुनाथ पोखरेल, कृष्णभक्ति धाराका वसन्त शर्मा लुइटेल र निर्गुणभक्ति धाराका ज्ञान दिलदासभन्दा रचना कौशलका दृष्टिले भानुभक्त नै उत्कृष्ट र प्रखर देखिन्छन् । रामभक्ति धारामा त भानुभक्तको दाँजोमा आउने अरु कुनै कवि नै देखिदैनन् भन्दा पनि अतिशयोक्ति नहोला । महाकावि लक्ष्मीप्रसाद देवकोटाले समेत उनलाई नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष भनी उल्लेख गरेका छन् ।
उनका रचनाहरुमा शास्त्रीय छन्दहरुको कुशल संयोजन भएको पाइन्छ । संस्कृत छन्द परम्परालाई नेपाली साहित्यमा लोकप्रिय बनाउनमा उनको महत्वपूर्ण भूमिका रहेको छ । उनले शिखरिणी छन्द, शार्दूलविक्रीडित छन्द लगायत विभिन्न शास्त्रीय छन्दहरुको प्रयोग गरेका छन् । उनको महत्वपूर्ण कृति रामायणमा पनि यिनै विभिन्न शास्त्रीय छन्दहरुको कुशल संयोजन गरिएको छ भने लयात्मकताको पनि त्यतिकै मिठासपन पाउन सकिन्छ :
अघि ब्रम्हाजीले सकल भूमिको भार हर भनी ।
स्तूति गर्दा खुस भै सुन म हरुँला भार पनि भनी ।
भन्याका हुनाले उही वचन पालन गरुँ भनी ।
प्रभु जान्छन् वनमा पछि त सुन फिर्छन् घर पनि ।।
(रामायणबाट साभार)
माथिको कविताको श्लोक राम वनवास जानेबेला भएको संवादको एउटा कवितात्मक अंश हो । यसरी भानुभक्तले आफ्ना रचनाहरुमा उपमा, रुपक, दृष्टान्त र विभिन्न अलङ्कारहरुको समेत स्वभाविक रुपमा प्रयोग गरेका छन् । उनले समाजका नीच कर्मलाई त्याग्दै लोक कल्याणकारी कार्यमा लाग्न आग्रह समेत गरेका छन् ः
दरिद्र नाउँ नरमा छ कस्को ?
विशाल तृष्णा घरमा जस्को ।
कुन हो धनी सब नरले कह्याको ?
सन्तोषले जो छ खुसी रह्याको ।
ज्यूँदै मर्याको भनी नाउँ कस्को ?
उद्यम विना वित्दछ काल जस्को ।
कुन हो सबैले गुरु भन्नु पन्र्या ?
जो हो हितैको उपदेश गन्र्या ।
(प्रश्नोत्तरमालाबाट साभार)
माथिका दुई ओटा कवितांश भानुभक्त आचार्यको प्रश्नोत्तरमालामा आधारित नीतिका कुरा कविताबाट साभार गरिएको हो । कविताको पहिलो श्लोकमा पैसाकै पछाडि भौतारिरहने र सधै घरमा असन्तोष रहने मान्छे दरिद्र हो भन्दै सधै सन्तोषले खुसी रहने मान्छे वास्तवमा धनी हो भन्ने आदर्शभाव व्यक्त गरिएको छ । त्यसैगरी दोस्रो श्लोकमा उद्यम नगरी अमूल्य जीवन खेर फाल्ने मानिस बाँचेर पनि मरेतुल्य हुन्छ भन्दै कर्म गर्नुपर्ने कुरामा जोड दिइएको छ भने हितको उपदेश गर्ने व्यक्ति नै सबैको गुरु हो भनिएको छ ।
यसरी आदिकवि भानुभक्त आचार्यको नपाली साहित्यको संरक्षण र विकासमा अतुलनीय योगदान रहेको छ । जसरी पृथवी नारायण शाहले नेपाल राष्ट्रको एकीकरण गर्नमा उल्लेख्य योगदान रहेको छ, त्यसरी नै साहित्यको माध्यमबाट नेपाली भाषाको एकीकरण गर्न र नेपाली साहित्यको विकास, संरक्षण र संवद्र्धन गर्नमा भानुकोे उल्लेखनीय योगदान रहेको छ । आदिकवि भानुभक्तको २०७ औं जन्मजयन्तीको अवसरमा भानुप्रति हार्दिक नमन् ।
लेखक सन्चारकर्मी हुन् ।