कुशुम मल्ल, बुर्तिबाङ २०७७ असार २९ । ढोरपाटन साहित्य प्रतिष्ठानको आयोजनामा आज बुर्तिबाङमा २०७ औं भानु जयन्ती मनाइएको छ ।
उक्त कार्यक्रममा ढोरपाटन साहित्य प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र निरासीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष निरासीले नेपाली भाषा साहित्यको संरक्षण र विकासमा आदिकवि भानुभक्त आचार्यको उल्लेखनीय योगदान रहेकाले उनको योगदानलाई सधै उच्च सम्मान गर्नुपर्ने बताए । साथै थप बोल्दै उहाँले ढोरपाटन–बुर्तिबाङ क्षेत्रमा सुषुप्त अवस्थामा रहेको कला साहित्यको प्रस्फुटन र विकासका लागि यस क्षेत्रका बौद्धिक व्यक्तिहरुको विशेष ध्यान जानुपर्ने बताए।
उक्त कार्यक्रममा प्रतिष्ठानका सचिव पूर्णपति कँडेलले भानुभक्तको योगदान र जीवन चरित्रको बारेमा बोल्नुका साथै रचना वाचन गरेका थिए । त्यसैगरी संस्थाका उपाध्यक्ष थमनाथ पौडेल, कोषध्यक्ष विन्दु चालिसे लगायत विभिन्न क्षेत्रबाट कार्यक्रममा उपस्थित साहित्यप्रेमी स्रष्टाहरुले कवि भानुभक्तको तस्वीरमा फूल र अवीरले माल्यार्पण गर्नुका साथै समसामयिक विषयमां विभिन्न कविता, गजल र मुक्तकहरु वाचन गरेका थिए ।
वि.सं. १८७१ साल असार २९ गते तनहुँको रम्घा चुँदीबेसीमा जन्मिएका आचार्य नेपाली कविताको प्राथमिककालीन भक्तिधाराका कविहरुमध्ये सर्वाधिक चर्चित र प्रतिभाशाली कवि हुन् । उनले आफ्ना कृतिहरुमा सामाजिक नैतिक पक्षलाई बढी जोड दिनुका साथै युगीन जीवनका यथार्थ अनुभूतिहरुलाई सहज एवं स्वभाविक रुपमा चित्रण गरेका छन् । उनले महत्वपूर्ण नेपाली मौलिक महाकाव्य रामायणको रचना गर्नुका साथै बधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरमाला र अन्य थुप्रै फुटकर कविताहरुको रचना गरेका छन् ।
प्रतिष्ठानका उपाध्यक्ष थमनाथ पौडेलको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव पूर्णपति कँडेलले गरेका थिए।