रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार ३० । बागलुङ नगरपालिका भित्र रहेको भानु बाटिका संरक्षणको पर्खाइमा छ । बागलुङ नगरपालिका ३ चिप्लेटी बसपार्कको बीचमा रहेको भानु बाटिका संरक्षण अभावमा अलपत्र परेको हो ।
सोमवार २ सय ७ औ भानु जयन्ती मनाइदै गर्दा बागलुङमा निर्माणको चरणमा अलपत्र परेको भानु बाटिका सरोकारवालाको प्राथमिकतामा पर्न सकेन । नेपाली साहित्यका अग्रणी साहित्यकार आदि कवि भानु भक्तको शालिक बनाउने उदेश्यले बाटिकामा तारबार गरिए पनि निर्माण सुरु भएको ५ वर्ष सम्म पनी बाटिकाले पुर्णता पाउन सकेको छैन । बजारका चोक, होटेलका हल, तथा चौतारीमा हुदै आएको जन्मयन्ती मनाउन सहज र आदीकवि भानुभक्त आचार्यको सम्झनामा बागलुङ नगरपालिका(३ चिप्लेटी बसपार्कमा भानु बाटिका बनाउन नगरपालिकाले जग्गा व्यवस्थापन गरेपनी आवश्यक बजेट नहुँदा अलपत्र परेको छ ।
बाटिकाको विकास र संरक्षण गर्ने दायित्व सवैको भएको प्रध्यापक हरि प्रसाद पाण्डेले वताए । भानु बाटिका निर्माण र संरक्षणको लागि राज्यको तर्फबाट कुनै पहल भएको छैन । नेपाली साहित्यमा महत्वपुर्ण योगदान दिने आदिकवि भानुभक्तको योगदानलाई कसैले भुल्न नहुने सहित्यसँग जानकारहरु बताउछन् । बागलुङ नगरपालिकाको २ लाख लगायतका व्यक्तिगत सहयोग समेत गरी भानु वाटिका निमार्ण गर्दा कुल ३ लाख खर्च गरिएको छ । अहिले भानु पार्कको परिसर भित्र फोहोरको थुप्रो, झारपात, सडेगलेका कपडाहरु र अन्य बस्तुहरुले निकै अस्तव्यस्त अवस्थामा देख्न सकिन्छ ।
बागलुङ जिल्लामा पहिलो साहित्यक पार्कको रुपमा विकास गर्न निर्माण थालिएको बाटिका निर्माणकै चरणमा अलपत्र पारिदा साहित्यलाई माया गर्ने साहित्य अनुरागी चिन्तित भएका छन्। पार्कमा आदिकवि भानुभक्तको शालिक राख्ने विषयमा जिल्लामा नाम चलेका सहित्यकारको आन्तरिक कलहका कारण त्यसको असर बाटिकामा पर्न गएको छ ।
पछिल्लो समयमा बागलुङ जिल्लामा साहित्यकारहरुको जमात बढे पनि पार्कको सरसफाईमा कसैको ध्यान पुग्न नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । साहित्यकारहरुको संस्थाको रुपमा चिनिए पनि भानु बाटिका सरसफाईमा सबैको दायित्व रहेको र विशेष गरी बागलुङ नगरपालिकाले पहल गर्नु पर्ने देखिन्छ । यसरीनै भानु बाटिका संरक्षणमा कसैको ध्यान नजाने हो भने अबको केही समय पछि भानु बाटिका फोहोर फाल्ने ठाउँको रुपमा परिणत हुने देखिन्छ ।