लक्ष्मण बिश्वकर्मा, फलेवास २०७७ साउन १३ । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वतका एक मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
पर्वतको फलेवास नगरपालिका वडा नं.६ देविस्थान चनखोलाका मृगौला पीडित याम नेपालीलाई प्रदेश सरकारको तर्फबाट १ लाख सहयोग गरेका हुन् ।
आफू मृगौला पीडित यामलाई भेट्न अस्पतालमा नै पुगेर अवस्था बुझेपछि मन्त्री परिषदको बैठकमा प्रस्ताव राखी निर्णय गरेर उक्त सहयोग उपलब्ध गराएको मन्त्री लम्सालले बताए । केहि दिन अगाडी उक्त सहयोग रकम मृगौला पीडितको बैंक खातामा जम्मा गरिदिएको उनले बताए ।
मन्त्री लम्सालले “याम भाइले फोन गरेर म संग पाँच दस हजार सहयोग गर्न आग्रह गर्नुभएको थियो, उक्त सहयोगले उपचारमा खासै राहत नहुने भन्दै उपचारमा सहज होस भनेर मन्त्रीपरिषदको निर्णयबाट नै १ लाख सहयोग गरिएको बताए । दुख पीडामा जनताको साथमा रहेर दुखेको घाउमा मलम लगाउन आफू तत्पर रहेको मन्त्री लम्सालले बताए ।
दीर्घ तथा जटिल रोगका बिरामीहरुलाई प्रदेश सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि त्यस्ता रोगी व्यक्तिले आफुलाई जानकारी गराएमा सहयोग गर्ने लम्सालले प्रतिबद्धता व्यक्त गरे ।
आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएका जो कोहि जनतालाई प्रदेश सरकारको आभास हुनेगरी सहयोग तथा उद्धारको कार्यमा आफू निरन्तर लागि परेको मन्त्री लम्सालको भनाई थियो ।
प्रदेश सरकारबाट आफुलाई सहयोग प्राप्त भएपछी मृगौला पीडित उपचारमा सहज हुने भन्दै खुसी भएका छन् । मृगौला पीडित यामले भने “विकास सर आफ्नोपनको आभास गर्दै मलाई भेट्न अस्पतालमा नै आउनुभयो । आफ्नो जनप्रतिनिधिले एकै वचनमा अतुलनीय सहयोग गर्दा अति खुसी लागेको छ । ” सहयोगका लागि मत्री लम्साललाई धन्यवाद व्यक्त गर्दै थप सहयोगका लागि अन्य महानुभवलाई पनि उनले अनुरोध गरेका छन् ।
लामो समयदेखि रोजगारीको सिलसिलामा भारतमा रहेका २९ बर्षिय नेपालीको गत बर्ष दुबै मृगौला फेल भएर उपचाररत छन । अहिले मृगौलाको डायलेसिस गराउदै आएका छन् । सहयोगी दाताहरुको सहयोगमा पैसा जोहो गर्न सकेमा मृगौला प्रत्यारोपण गर्ने पीडितले ईच्छा व्यक्त गरेका छन् । उपचारको क्रममा आफुसंग भएको सबै पैसा सकिएपछि याम बहादुरले आफ्नो जीवन बचाइदिन सरकार, संघसंस्था तथा विभिन्न व्यक्तिहरुसंग सहयोगको लागि अपिल गरेका छन् ।