रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन १४ । बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको लापर्बाही चरमचुलीमा छ । बागलुङ बजारका ५० हजार उपभोक्ताहरुका लागी खानेपानी वितरणको जिम्मा लिएको यस संस्थालाई न उपभोक्ताहरुका लागी स्वच्छ, शुद्ध, सफा पिउन लायक खानेपानीको वितरण गर्ने चासो छ, न संस्था भित्र भ्रष्टाचार गर्न कसैको डर छ । संस्था भ्रष्टाचारको पर्यावाची बनेको छ, उपभोक्ताहरु पशुलेपनि नपिउने धमिलो फोहोर जीवाणुयुक्त पानी खान बाध्य छन् ।
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था भित्र हुँदै आएका भ्रष्टाचार र लापर्बाहीका बारेमा आम सन्चारमाध्यमहरुले बारम्बार समाचार सम्प्रेषण गर्दै आएपनि, उपभोक्ताहरुले संस्थाका पदाधिकारीहरुबाट हुने गरेका गैरकानूनी कामहरुको खुलेआम विरोधमा उत्रिएपनि कहिँबाट केहि सोधखोज नभएपछी भष्मासुरको रुपमा प्रस्तुत हुँदै आएका छन्, संस्थाका मान्यवरहरु ।
केहि महिना देखी धारामा नियमितरुपमा पानी झरेको छैन । धारामा पानी झरेपनि पिउन नहुने धमिलो माटाको लेदो सहितको पानी खसेपछी उपभोक्ताहरु रित्ता गाग्री बाल्टी लिएर पानीको जोहो गर्न निकै कष्ट उठाई रहेका छन् । कहिले पाईप फुट्यो, कहिले पाईप बगायो, कहिले के कहिले के बहानामा स्वच्छ खानेपानीका आपुर्तिमा खासै चासो नराख्दा उपभोक्ताहरुको व्यापक विरोध भएपछी हिँजो मात्रै नवागत प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा सुरक्षा प्रमुखहरुको टोलीले खानेपानी आपुर्ति सम्वन्धमा अनुगमन गरेको छ । अनुगमनका क्रममा हाल बजारमा आपुर्ति गरिएको पानी बागलुङ नगरपालिका ३ सालघारी मध्यपहाडी लोकमार्गको सडक नालीबाट सिधै पाईप जोडी खानेपानी ट्याँकीका झारी उपभोक्ताहरुलाई वितरण गरिएको डरलाग्दो रहस्योद्घाटन भएको हो । अनुगमन पश्चात जिल्ला प्रशासन कार्यालय बागलुङले खोनपानी आपुर्तिमा भएका लापर्बाही, उपभोक्ताको स्वास्थ्य माथी भएको खेलबाडलाई गम्भीरतापूर्वक लिएर संस्थासंग प्रष्टिकरण सोधिएको श्रोतको दाबी छ ।
संस्थाले यस अघिपनि यस्तै अस्वस्थकर खानेपानी आपुर्ति गर्दै आएको छ । कुनै पनि हालतमा पिउन योग्य पानी धारामा नखसेपछी उपभोक्ताहरुले उच्च अदालत पोखरा बागलुङ र्ईजलासमा दिएको निवेदनमा २०७५ साल भदौ १८ गते पिउन योग्य प्रशोधन तथा शुद्धिकरण गरी किटाणुरहीत शुद्ध खानेपानी शीघ्र आपुर्ति गर्नु भन्ने बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नाममा परमादेशको आदेश जारी भएको थियो । सम्मानित बागलुङ ईजलासको आदेशको पालना नभए पछी पुन २०७६ जेठ १३ गते बागलुङ ईजलासमा परमादेशको आदेशको कार्यान्वयन गरी पाउन निवेदन परेकोमा सोहि दिन ‘आदेश बमोजिम गर्नु’ भन्ने आदेश भएको थियो ।
सम्मानित बागलुङ ईजलासको आदेशको पालना समेत नगर्ने अटेरी संस्थाले जिल्ला प्रशासन कार्यालय, बागलुङले सोधेको स्पष्टिकरणलाई कसरी लिन्छ त्यो समयले बताउला । तर उपभोक्ताहरु प्रशासनको यस कदमलाई सकारात्मकरुपमा लिएर संस्था भित्रको भ्रष्टाचार समेत छानविन हुने कुरामा विश्वस्त देखिन्छन् ।
सम्वन्धित लिंकहरु
बागलुङ नगर खानेपानीमा ब्रह्मलुट, माईन्यूट बुक च्याताच्यात : खान पल्केकाहरुलाई कसले गर्ने कार्बाही ?
नगर खानेपानी भित्रको अनियमितता छताछुल्ल : विधिको शासन भएको मुलुकका भलाद्मीको यस्तो कर्तूत ?
स्वार्थ बाझिएपछी बागलुङ नगर खानेपानी तथा सरसफाई संस्थाका पदाधिकारीबीच भूँडी फोडाफोड !
9 Comments