Sorry, that menu does not exist.
 

यसरी भैरहेछ सफाई/सुरक्षा कर्मचारीहरुको नाँगो शोषण !
धौलागिरी अस्पतालमा देखियो, G4S(कम्पनि)को मुखमा हालेर आफ्नो भुँडी भर्ने भ्रष्टाचारको नयाँ बान्की !

सोम शर्मा, बागलुङ २०७७ साउन १५ । धौलागिरी अस्पताल व्यवस्थापन समितिले अस्पताललाई आवश्यक पर्ने कर्मचारीहरु पोखरा स्थित G4S(कम्पनि) मार्फत नियुक्ती गरेर मासिक लाखौँ रुपया अपचलन गर्दै आएको रहस्य खुलेको छ । बिरामीहरुबाट उठेको शुल्क, अस्पताल भवनबाट उठेको घरभाडा रकम तथा अन्य स्थानीय श्रोतबाट जम्मा भएको रकमको दुरुपयोग हुने गरी G4S (कम्पनि) मार्फत कर्मचारी भर्ना गरेर अस्पतालबाट मासिक रु ३ लाख ३९ हजार भन्दा बढी रकम त्यस संस्थाको नाममा भुक्तानी दिईने गरेको छ, जबकि अस्पतालमा भर्ना गरिएका कर्मचारीहरुले त्यसको आधा रकम पनि पाउदैनन् । अस्पताल व्यवस्थापन समितिले सिधै विज्ञापन प्रकाशित नगरी G4S कम्पनि संग साँठगाँठ गरी कर्मचारी भर्ना गरेर मासिक डेढ लाख भन्दा बढी रकम भ्रष्टाचार गर्दै आएको श्रोतको दाबी छ ।

श्रोतका अनुसार, एकातिर अस्पताल व्यवस्थापन समितिले मासिक रु ३ लाख ३९ हजार G4S (कम्पनि)लाई भुक्तानी दिँदै आएको छ भने अर्कोतिर अस्पतालमा भर्ना गरिएका कर्मचारीहरुले एक महिनामा त्यस्को आधा रकम पनि पाउदैनन् । बिचरा कर्मचारीहरु आफ्नो नाममा मासिक लाखौ रकम भ्रष्टाचार भैरहेको टुलुटुलु हेर्न बाध्य छन् । आफ्नो शोषण भएको थाहा पाउदा पाउदै पनि उनिहरु जागीर जाने डरले मुख बाउन सकेका छैनन् ।

पहिलेका कर्मचारीको काम चित्तबुझ्दो नभै G4S कम्पनिबाट कामदार भर्ना गर्न आवश्यकता ठान्ने समितिले अस्पतालले मासिकरुपमा दिने रकम र कम्पनिले कर्मचारीलाई दिने रकमबिचको अन्तर चाल नपाएझैँ गर्नु नै रहस्यमय बनेको श्रोतले बतायो ।

प्राप्त जानकारी अनुसार २०७५ माघ १५ मा अस्पताल र G4S (कम्पनि) बिच भएको सम्झौता बमोजिम अस्पतालमा २४ घन्टा सुरक्षा प्रदान गर्न दुईजना सुरक्षा गार्ड नियुक्त गरिएको छ । सुरक्षा गार्डहरुका लागी अस्पतालबाट मासिक रुपमा ७७ हजार ६ सय २५ रुपैया G4S लाइ उपलब्ध गराउदै आएको छ जबकि सुरक्षा गार्डहरुले महिनामा बढीमा रु २३ हजार मात्र पाउने गरेको बताई रहेका छन् ।

२०७६ कात्तिक २९ गते समिति र उहि G4S कम्पनि बीच अस्पतालमा प्रति व्यक्ति मासिक रु २५ हजार ८ सय २० पारिश्रमिक दिने गरी ८ जना सफाई कर्मचारी नियुक्ती गर्ने सम्झौता भयो । सम्झौता अनुसार अस्पतालमा ८ जना सफाई कर्मचारी भर्ना गरिए । अस्पतालले सफाई कर्मचारीका लागी मासिक रुपमा G4S कम्पनिको नाममा रु २ लाख ६ हजार ५ सय ६० रकम निकाशा दिँदै आएको छ । तर सफाई कर्मचारीहरु भनि रहेका छन्, ‘हामीले महिनामा जम्मा रु १३ हजार ५ सय मात्र बुझ्दै आएका छौँ ।’ यसरी अस्पतालले मासिक रुपमा दिने रकमको आधा रकममात्र कर्मचारीलाई दिएर कर्मचारीमाथी घोर अन्यायका साथ शोषण गरिएको छ भने G4S कम्पनि संगको नाजायज मिलीमतोमा मासिक लाखौँ रपया भ्रष्टाचार भैरहेको छ ।

यतिमात्रपनि होईन, श्रोत भन्छ, यी कामदारहरुलाई हेर्न एक जना सुपरभाईजर पनि भर्ना गरिएको छ, उसको लागी अस्पतालले मासिक रुपमा रु २९ हजार ८ सय १७ निकाशा दिँदै आएको छ भने सरसफाई सामाग्रीका लागी भनी मासिक रुपमा रु २५ हजार रुपयाँ कम्पनिको नाममा अस्पतालले निकाशा दिँदै आएको छ । यसरी अरुको मुखमा हालेर आफ्नो भुँडी भर्ने भ्रष्टाचारको नयाँ बान्कीको रुपमा नागरिक अगुवाहरुले विश्लेषण गरिरहेका छन् ।

श्रोतका अनुसार, अस्पतालबाट G4S कम्पनिको नाममा सेक्यूरिटी सेवा गार्डलाई रु ७७,६२५।(भ्याट सहित) सफाई कर्मचारीहरुको लागी भनेर मासिक रु २,०६,५६०।(भ्याट सहित) सुपरभाईजरको नाममा रु २९,८१५ । (भ्याट सहित) निकाशा भैरहेको छ भने सफाई सामाग्रीका लागी रु २५ हजार (भ्याट बाहेक) मासिक रुपमा दिईदै आएको छ ।

अस्पतालले कर्मचारीका नाममा भुक्तानी दिँदै आएको रकम र वास्तविक रुपमा कर्मचारीले पाउने रकममा आकाश पातालको भिन्नता छ। अस्पतालले आंफै कर्मचारी राख्न सकेको खण्डमा अस्पताल जस्तो मानवीय संस्थाको लाखौँ रकमको दुरुपयोग नुहने र कर्मचारिप्रती पनि न्याय हुने देखिन्छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments