रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन २६ । धौलागिरी अस्पताल बागलुङमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा अस्पतालका १ पुरुष र १ महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका ३९ बर्षिय पुरुष स्वास्थ्यकर्मी र २२ बर्षिया महिला स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको धौलागिरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए । पुरुष स्वास्थ्यकर्मी धौलागिरी अस्पतालका प्यारामेडिक्स (एचए) हुनभने एक जना स्टाफ नर्स रहेको अस्पतालले जनाएको छ ।
धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसन कक्षमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई साउन २० गते कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका र अस्पतालमा कार्यरत गरी ३२ जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गर्दा २ जनालाई संक्रमण देखिएको डा. पोखरेलले बताए । संक्रमित दुवैजनालाई अस्पतालको आइसोलेसन राख्ने तयारी भईरहेको अस्पतालले जनाएको छ ।