Sorry, that menu does not exist.
 

पुस्तकालयद्वारा रेडियो पर्वत सहित ६ वटा व्यवसायीको १ महिनाको भाडा छुट !

लक्ष्मण बिश्वकर्मा, पर्वत २०७७ साउन २७ । पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयको भवनमा भाडामा रहेका व्यवसायी तथा संस्थालाई १ महिनाको भाडा छुट दिएको छ ।

पछिल्लो समय विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपालमा लकडाउन हुदा व्यावसायिहरुलाई पनि प्रत्यक्ष प्रभाव पारेकाले केही राहत होस भनेर असार महिनाको २० हजार ६ सय भन्दा बढी भाडा छुट गरिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौडेलले जानकारी दिए ।

उक्त भवनबाट संचालित पर्वत जिल्लाको पहिलो रेडियो, रेडियो पर्वत १०३.६ मेगाहर्जलाई १ महिनाको १० हजार छुट दिइएको छ । त्यस्तै सुभम खाजा घर,सची कम्प्युटर सेन्टर, अनिता सुनचाँदी पसल, मनिसा सिलाई कटाई सेन्टर र सपना खाजा घरलाई भाडा छुट दिएको पौडेलले बताए ।

वि.सं. २०१६ सालमा स्थापना भएको मोती सामुदायिक पुस्तकालय नितान्त सामाजिक सेवामा क्रियाशील भएको उनले बताए । मुलुकमा संघीयता लागू हुनुअघि नेपाल सरकार शिक्षा मन्त्रालयबाट बार्षिक ५ लाख अनुदान प्राप्त हुने गरेकोमा अहिले संघीयता कार्यनयन भएपछि पुस्तकालयमा कुनै पनि सहयोग प्राप्त नभएको उनको भनाइ थियो । पुस्तकालयको व्यवस्थापनका लागि स्थानीय सरकारले चासो दिनुपर्ने पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !