बागलुङ २०७७ साउन २९ । लौन उठ जाग बागलुङ नगरका उपभोक्ताहरु कति सुत्छौ … यो बागलुङ नगरपालिकाका एक उपभोक्ताले आफ्नो फेसबुकमा लेखेको बेदना हो । यो वेदना भित्र पूरा नगरवासीको मर्म, पीडा र बाध्यता लुकेको छ । महिनौ होईन वर्षौ देखी आम उपभोक्ताहरु शुद्ध सफा पिउने पानीको निम्ति सार्वजनिकरुपमा चिच्चाउदा, कराउदा, हारगुहार माग्दा, उजुरबाजुर गर्दा न नगरपालिका न सांसद, न प्रशासन कतैबाट सुनुवाई नभएर आजीत परेर बोल्न छोडे पनि एकदुई जना उपभोक्ताहरु सामाजिक सन्जाल मार्फत आफ्ना बेदना र बाध्यताहरुलाई जनहितमा यसरी प्रस्तुत गरिरहेका छन् ताकि अझैपनि कहिँ कतैबाट शुद्ध खानेपानीको लागी पहल होस् ।
कानमा ठेँड्को र आँखामा पट्टी बाँधेकाहरुलाई हजारौँ उपभोक्ताहरुको यो पीडालाई सुन्ने हेर्ने फुर्सद कहाँ ? शुद्ध खानेपानीका मागगर्दैै अदालत गुहार्न पुगे उपभोक्ता, शुद्ध सफा पानीको व्यवस्था गर्न परमादेशको आदेश जारी भयो, तर धारामा शुद्ध पानी झरेन, जिल्ला प्रशासन कार्यालयले प्रष्टिकरण सोध्यो तर धाराबाट औँसे किरा हिलो लेदो झर्न छोडेन, जनताले मत दिएर चुनिएका नगरप्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधीहरु आफना नगरवासीको यस ज्वलन्त समस्या प्रति रत्तिभर सम्वेदनशील नबनेको अवस्थामा सामाजिक सन्जाल फेसबुकमा धाराबाट खस्ने पानी र किराका फोटो सहित बेदना पोख्दैमा लौन उठ जाग भन्दैमा धाराबाट शुद्ध पानी झर्छ भन्ने आशा गर्न त सकिदैन, तैपनि उनिहरुले जनहितमा गरेका यस्ता अपीलहरुले बागलुङ सदरमुकामवासी भनौ बागलुङ नगरबासीहरुले भागिरहेको दुख दर्दलाई जगजाहेर गर्न सहयोग चाहिँ पुगेको मान्नु पर्छ ।
मानव जीवनमा नभै नहुने शुद्ध पिउने पानीको आपुर्तिका लागी जेजति रकम खर्च लागेपनि तत्कालै आवश्यक बैकल्पिक व्यवस्था गर्नु पर्नेमा महिनौ बित्दा सम्म बेवास्ता हुनु कति सम्म जायज हुन्छ ? त्यो सराकारवालाहरुले मनन गर्नु पर्ने कुरा हो । बिचरा आम उपभोक्ताहरु बलियाले गाग्री बोकेर खानेपानी ओसारी रहेका छन नसक्ने निर्बलियाले त्यहि धाराबाट खसेको फोहोर पानी घुटुघुटु खाई रहेका छन् । कोरोनाको कहरकाबीच कतै झाडापखालाको महामारी नफैलियोस् । कालिका भगवतीले रक्षा गरुन् ।
15 Comments