Sorry, that menu does not exist.
 

बागलुङका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता वितरणमा किन सौतेनी व्यवहार ?

बागलुङ २०७७ भदौ १ । बागलुङ जिल्लाका विभिन्न क्वारेन्टाईन र आईसोलेशन केन्द्रहरुमा खटिएका सबै स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउनु पर्ने माग चर्किएको छ । अग्रपंक्तिमा रहेर जोखिम मोलेर संक्रमितहरुको उपचारमा प्रत्यक्ष अप्रत्यक्षरुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी कर्मचारीहरुलाई सरकारले प्रदान गर्ने भनेको जोखिम भत्ता धौलागिरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी कर्मचारी बाहेक जिल्लाका अन्य कसैले पाएका छैनन् ।

कोरोना संक्रमितहरुका लागी बुर्तिवाङ बजार स्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र तथा निसीभूजी जनता क्याम्पस, गल्कोटको नरेठाँटी स्वास्थ्यचौकी आईसोलेशन केन्द्रमा जोखिम मोलेर सेवा प्रवाह गर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीहरुलाई जोखिम भत्ता निकासा नहुनु चासोको विषय बनेको छ ।

बुर्तिवाङका दुई आईसोलेशन केन्द्रहरुमा ५६ जना संक्रमितहरु उपचार पश्चात निको भएर घर फर्किएका छन्् भने गल्कोटको नरेठाँटी आईसोलशन केन्द्रमा ३३ संक्रमितहरुको उपचार पश्चात घर गएका छन् । यसरी कुनै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी कर्मचारीहरुले जोखिम भत्ता पाउने कुनै संस्थाका जोखिम मोलेर सेवा प्रवाह गर्ने खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई जोखिम भत्ता उपलव्ध नहुनु लाई बिभेदको संज्ञा दिन थालिएको छ ।
कोरोना महामारीमा जोखिम मोलेर खटिएका बागलुङका स्वास्थ्यकर्मीकोलागी रु ९१ लाख जोखिम भत्ता निकासा !
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले जोखिममा खटिएका स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि असार ३१ गते बुधबार मात्रै धौलागिरी अस्पतालको खातामा ९१ लाख १३ हजार रुपैयाँ जोखिम भत्ता वितरणका लागि रकम निकासा गरी पठाएको र मौखिक रुपमा बागलुङ जिल्लाभरिका आईसोलेसनका लागि भनेर रकम निकासा भएको जानकारी आएको हो तर लिखित रुपमा निर्देशन आएपछि मापदण्डको आधारमा वितरण गरिने अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले ईबागलुङलाई बताएका थिए ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले पनि बागलुङमा प्रदेश सरकारबाट स्वीकृत भएका आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ता एकमुष्ट प्रदेश सरकारबाट स्वीकृत भएको धौलागिरि क्याम्पस, बागलुङ बहिरा विद्यालय, नरेठाँटी स्वास्थ्य चौकी र बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्र र निसीभूजी जनता क्याम्पस आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि जोखिम बहन गरे वापतको भत्ता हो । केन्द्रको स्पष्ट निर्देशिका अनुसार वितरण गर्न भनिएको महाशाखा प्रमुख केसीले बताएपनि धौलागिरी अस्पतालका नाममा निकासा भएको जोखिम भत्ता यहीँका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई नै नपुग भएको भनेर अन्य आईसोलेशनमा खटिएकालाई नदिईएको खुल्न आएको छ ।

ज्यानको पर्वाह नगरी जोखिम मोलेर कोरोना संक्रमितहरुको हेरचाह र उपचारमा खटिएका धौलागिरी अस्पतालका बाहेक अन्य स्वास्थ्य केन्द्रहरुका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई जोखिम भत्ता उपलव्ध नगराई सौतेनी व्यवहार गरिएको बास्तविकतालाई मनन गरी संघीय र प्रदेशसभा सांसद, स्थानीय तहका जनप्रतिनिधी, स्थानीय प्रशासन सबै तप्काबाट तत्काल पहल गरिनु पर्ने टड्कारो आवश्यकता देखिन्छ । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नका लागी यो नित्यान्त जरुरी पनि छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !