प्रेम सुनार, गुल्मी २०७७ भदौ ३ । गत असार १८ गते राती गुल्मीको ईस्मा गाउँपालिकामा गएको भिषण बाढि पहिरोले घर बगाएर बिस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले मंगलवार आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
ईस्मा गाउँपालिका वडा नम्वर १ हपुर्कोट निवासी एम खत्री र गुल्मीकै जुनियाँ घर भएका चन्द्र रानाको अगुवाईमा गुल्मी सम्पर्क समिति दक्षिण कोरिया नामक संस्थाको नामबाट त्यस वडाका बाढि पहिरो पीडितहरुलाई २ लाख ८४ हजार रुपैयाँ दक्षिण कोरियामा रहेका नेपालीहरुबाट राहत संकलन गरि पठाएका थिए ।
सो रकम गुल्मी स्थित रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिता खत्रीको बैंक खातामा पठाईएको थियो । खत्री पत्रकार प्रेम सुनार लगायतका सञ्चारकर्मीहरुले मंगलबार सोही वडामा पुगेर उक्त नगद रकम त्यस वडाका वडाध्यक्ष चुराबहादुर खत्रीलाई हस्तान्तरण गरेकी थिईन ।
तत्कालै त्यस वडा कार्यालयमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा एम खत्रीका मावली हजुर बुवा भुपाल सिंह बिष्टको प्रमुख आतिथ्यमा त्यस वडाका वडाध्यक्ष चुराबहादुर खत्रीले ५९ घरधुरी बाढि पहिरो पीडितहरुलाई हस्तान्तरण गरेका थिए ।
वडाध्यक्ष खत्रीले क वर्गका २ घरधुरीलाई प्रति परिवार ८ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए । त्यस्तै ख बर्गका ३४ घरधुरीलाई साढे ५ हजारका दरले र ग बर्गका २३ घरधुरीलाई साढे ३ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए ।
गुल्मी सम्पर्क समित दक्षिण कोरियाका अध्यक्ष चन्द्र रानाले एम खत्रीको आग्रहमा त्यस वडाका बाढि पहिरो पीडितहरुको सहयोगार्थ विभिन्न जिल्लाका ५० जना नेपालीहरुबाट सहयोग संकलन गरि राहत पठाईएको बताए । दक्षिण कोरियामा सहयोग जुटाउन हर्पुकोट घर भई हाल काठमाण्डौमा रहेका एम खत्रीका मामा रामकुमार बिष्टले बिशेष पहल गरेका थिए ।
बिष्ट स्वयमले पनि ब्यक्तिगत रुपमा १० हजार भन्दा बढि सहयोग पठाएका थिए । कोही स्कुल र कोही त्रिपाल मुनी बसेका बाढि पहिरो पीडितहरुले आफुहरुलाई तिज मान्न पुग्ने गरि दक्षिण कोरियाबाट नगद सहयोग पठाएको प्रति सहयोगदाताहरु प्प्रति आभार प्रकट गरेका थिए ।
वडाध्यक्ष चुराबहादुर खत्रीले सहयोगदाता सबै प्रति कृतज्ञता जाहेर गरेका थिए । गुल्मी सम्पर्क समाज दक्षिण कोरिया र सहयोग संकलनमा संयोजन गर्ने एम खत्री र समाजका अध्यक्ष चन्द्र राना सहित सहयोगदाता सबै प्रति वडा कार्यालयको तर्फबाट कृतज्ञता जाहेर गर्दर्छु वडाध्यक्ष खत्रीले भने त्यसको पहल गर्ने रामकुमार बिष्टलाई पनि धन्यवाद दिन चाहन्छु ।
वडाध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा त्यस वडाका वडा सचिव भिमकानत शर्मा रेग्मीको स्वागत मन्तब्य र नेपाल कम्युनिष्ट नेकपाका स्थानीय नेता नारायण कुँवरको सञ्चालन रहेको थियो ।