Sorry, that menu does not exist.
 

एकहप्ता भित्र बागलुङ नगरबासीले शुद्ध पानी खान पाउलान ?

बागलुङ २०७७ भदौ ३ । उच्च अदालत पोखरा, बागलुङ ईजलासका माननीय न्यायाधीश मोहनबहादुर कार्की र माननीय न्यायाधीश व्दारिकामान जोशीको संयुक्त ईजलासबाट निवेदक रमेशबहादुर खडकाको निवेदन (०७७ डब्लुओ.०००२) मा एक हप्ता भित्र निवेदनमा उल्लेख भए बमोजिम नाली खेत र ढलको पानी वितरण गर्ने कार्य नगरी सफा शुद्ध स्वच्छ स्वास्थ्यबर्धक गुणस्तरयुक्त पानी वितरण गर्नका लागी प्रशोधन प्रकृयाको अवलम्वन वा उपयुक्त निर्मलीकरणका प्रयोग लगायत तत्काल यथोचित उपायको व्यवस्थापन गर्नु गराउनु भन्ने हिँजो भदौ २ गते अन्तरिम आदेश जारी भएको छ ।
अदालतबाट माथी बुँदा नं १ मा उल्लेख गरे अनुरुप तत्काल यथोचित उपायको व्यवस्थापन भए गरेको बारेमा बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई १० दिन भित्र अदालतमा लिखित प्रतिवेदन दिन र यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी र नगरप्रमुखले अनुगमन गरी त्यस्को यथार्थ विवरण सहितको प्रतिवेदन १० दिन भित्र अदालतमा पेश गर्न समेत अन्तरिम आदेश जारी गरिएपछी उपभोक्ताहरुमा सकारात्मक प्रभाव पर्नुका साथै सफा र शुद्ध पानी खान पाईने भयो भन्ने आशा पलाएको छ । अदालतबाट जारी अन्तरिम आदेशलाई लिएर स्थानीय सन्चारमाध्यमहरुले प्रमुखताका साथ समाचार प्रकाशित गरेका छन् । सामाजिक सन्जाल फेसबुकमा विभिन्न टिप्पणी अपडेट भएका छन् ।

लौन उठ जाग बागलुङ नगरका उपभोक्ताहरु कति सुत्छौ …?
अदालतबाट जारी भएको अन्तरिम आदेश बमोजिम बागलुङ नगरबासीले एक साता भित्र सफा शुद्ध स्वच्छ स्वास्थ्यबर्धक गुणस्तरयुक्त पानी खान पाउलान त ? यतिखेरको मुल प्रश्न सफा शुद्ध स्वच्छ स्वास्थ्यबर्धक गुणस्तरयुक्त पानीको आपुर्ति नै हो । बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बिगतका कृयाकलाप र हालको हेलचक्राई एवं बेथितिलाई हेर्दा संस्थाबाट केहि तिलस्मी होला भन्ने आशा गर्न सकिने ठाउँ छैन । मध्य वर्षातको समयमा सफा स्वच्छ पानीको बैकल्पिम मुहान खोज्नु एक हप्तामा कति सम्भव हुन्छ त्यो आफ्नै ठाउँमा छ, अहिले जहाँ जसरी पानीको आपुर्ति भैरहेको छ त्यस्लाई प्रशोधन वा निर्मलीकरण प्रणालीव्दारा पिउन योग्य पानीको आपुर्ति गर्न संस्थाले पहल गर्छ भन्ने बागलुङ नगरवासी उपभोक्ताहरुलाई रत्तिभर विश्वास नै छैन ।
नगरवासीको स्वास्थ्यसंग खेलबाड : सडक नालीको फोहोर पानी सिधै उपभोक्ताको धारामा !
यो वर्षातको समयमा मात्र होईन, बिगत वर्षहरुको वर्षा याममा पनि यस्तै फोहारे गुहे पानी नगरबासीले पिउदै आएका छन् । उतिबेला पनि उपभोक्ताहरु बिरोधमा उत्रिएकै थिए । अहिले कै यहि बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका बिरुद्ध सफा शुद्ध खानेपानीको व्यवस्था हुन अदालतमा दिएको निवेदनमा परमादेशको आदेश जारी भएको पनि हो । संस्थाले अदालतको आदेशको पालना नगरे पछी अदालतमा पुन निवेदन दर्ता भएको थियो । हजारौ उपभोक्ताहरुको स्थास्थ्य (हित) लाई ध्यानमा राखी अदालतबाट शुद्ध सफा पानी खुवाउनु भनी जारी भएको परमादेशको आदेशको बेवास्ता गर्ने यहि संस्था हो, यिनै पदाधिकारी हुन । हिँजो भदौ २ गते अदालकतबाट जारी अन्तरिम आदेशको पालना यो संस्थाबाट हुन्छ भन्ने कसरी विश्वास गर्ने ? उपभोक्ताहरुमा आशंका छ । फोहोर धमिलो पानीको आपुर्तिका सम्वन्धमा प्रमुख जिल्ला अधिकारीले महिना दिनमा दुईदुई पटक पानीको मुहान अनुगमन निरीक्षण गरी सफा पानीको लागी निर्देशन दिएको अवस्था छ । पानी संकलन गर्ने पोखरी (टंकी) भैँसी आहाल बस्ने पोखरी समान छ । न सरसफाई छ न पोखरीको सुरक्षाको प्रवन्ध छ, भगवान भरोसाबाटै चलेको छ ।
प्रजिअ न्यौपानेव्दारा खानेपानी आपुर्ति हुने मुहानको निरीक्षण !

सफा शुद्ध स्वच्छ स्वास्थ्यबर्धक गुणस्तरयुक्त पानी पिउने सबै नागरिकको नेसर्गिक अधिकारलाई यस संस्थाले कहिल्यै जिम्मेवारी पूर्वक लिएन, न त उपभोक्ताहरुको हितमा कुनै राम्रो काम गरेको उदाहरण नै प्रस्तुत गर्न सक्यो । न संस्थाको विधान अनुसार साधारण सभा वा अधिवेशन गरेर हर हिसाव सार्वजनिक ग-यो, उल्टै संस्थालाई नै भ्रष्टाचारको दलदलमा फसाएर उब्रनै नसक्ने अवस्थामा पुराउने बर्तमान संस्था तत्काल भंग वा विघटन गरी दोषिलाई कानूनी दायरमा ल्याउनु अहिलेको आवश्यकता हो । पानीको महसुल उठाएर दुरुपयोग गर्ने, उपभोक्ताहरुको हितमा कहिल्यै नसोँच्ने, अदालतको आदेशको पालना नगर्ने, संस्थाको रकम ब्रह्मलुट मच्चाउने संस्था र यसका पदाधिकारीहरु प्रति बागलुङ नगरपालिका मौन रहनु अनि हजारौँ नगरबासीले सफा पानी खान नपाएर रित्ता गाग्री बोकेर टाढाटाढा धाईरहेको नगरपालिकाले नदेख्नु नै वर्तमान चिन्ताको विषय हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !