बुर्तिवाङ २०७७ भदौ ९ । चालु आर्थिक वर्षमा अविरल वर्षा र बाढी पहिरोबाट बागलुङ जिल्लाको पश्चिम निसीखोला गाउँपालिकामा मात्र ५ जनाले ज्यान गुमाएका छन् । निसीखोला र यसका सहायक खोलाहरुमा आएको बाढी पहिरोले वर्षेनि यस गाउपालिकामा धेरैको ज्यान जाने गरेको छ भने गाउँनै बिस्तापित हुने गरेको छ । अहिले पनि दर्जनौँ घर बाढी पहिरोमा परेका छन भने दर्जनौँ घरहरु उच्च जोखिममा रहेका छन् । यहाँको भूवनावटका कारण यस पालिकाका मानिसहरु बाढी पहिरोको उच्च जोखिममा जीवन बिताउन बाध्य छन् ।
२०७७ भदौ ९ गते विहान ४ बजे ढोरपाटन २ अर्नाकमा गएको पहिरो
ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीका अनुसार चालु आर्थिक वर्ष २०७७/०७६ को साउन १२ गते राति १२ बजेको समयमा गएको पहिरोमा निसीखोला १ हर्पेमा ३ वर्षिय बालक तोरण परियारको ज्यान गएको हो ।
यसैगरी साउन ३१ गते निसीखोला ५ कारीगाउँमा राति १ बजे पहिरोजाँदा वर्ष १४ का वीरेन्द्र विक तथा कालापैराका वर्ष ६ का प्रवेश विकले ज्यान गुमाएका थिए । सोहि राति ३ बजेको समयमा निसीखोला ३ धाराखर्कमा गएको पहिरोमा परी ७९ वर्षिया बली बिकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।
साउन २७ गते बिहान १० बजेको समयमा निरीखोला ६ रोबाङकी वर्ष ६७ की करमती घर्तीमगरलाई खोलाले बगाएका मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता साउन १३ गते तमानखोला गाउपालिका २ खोलेसावाङ राति २ बजे पहिरामा परी ढिम्रीका १३ वर्षिय खिमबहादुर बिक र १२ वर्षिया किशोरी रिता बिकको मृत्यु भएको थियो । ढोरपाटन नगरपालिका ८ बिजौला सिकारुमा साँघु तर्दा साउन २८ गते खोलाले बगाएर ६२ वर्षिय गोरे सुनारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आज विहान मात्रै ढोरपाटन नगरपालिका २ अर्नाकमा विहान ४ बजेको समयमा पहिरोमा पुरिएर १९ वर्षिया पूजा परियारले ज्यान गुमाएकी छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्राप्त जानकारी अनुसार देवी प्रकोपबाट गत २०७७ असार ६ गते बागलुङ जिल्ला काठेखोला गाउपालिकामा फापरखेतमा बिमला पुनको घरमाथीबाट खसेको पहिरोबाट मृत्यु भएको, २०७७ साउन ४ गते बागलुङ नगरपालिका १ कालीगण्डकी किनारमा माथीबाट पहिरो खसी स्काभेटर पुरिदा जैमिनी नगरपालिका रमेश नेपाली र पर्वत जलजलाका नेत्रबहादुर पुनको मृत्यु भएको छ ।