राम क्षेत्री, गल्कोट २०७७ भदौ १९ । यु. यस. वी सेवा गल्कोटले ढोरपाटन नगरपालिका साविक बोवाङ गाविस भुजीखोलामा बुधवार राति आएको बाढीबाट प्रभावित बनेकाहरुका लागि राहत संकलन अभियान सुरु गरेको छ । Inside Baglung, युयसवी सेवा र गल्कोट यू. यस. वी सेवा ले संयुक्त रूपमा राहत अभियान थालेको हो । उक्त राहत अभियानमा अहिलेसम्म स्वतस्फर्त रु १लाख ८१ हजार भन्दा धेरै राहत संकलन भइसकेको यू. यस. वी सेवा का प्रेसिडेन्ट आकाश यु.यस.वी थापाले जानकारी दिए ।
गल्कोट नगरपालिका, वार्ड नं ५ घर भई हाल जापानमा रहेका समाजसेवी एबं सफल व्यवसायी ( घुम्टे नौमती बाजा समूह, जापान ) का संयोजक चन्द्र खत्रीले सहयोग स्वरूप पचास हजार राहत कोषको खातामा जम्मा गरेका छन् । त्यस्तै हाल हङकङमा रहेका पत्रकार गुमानसिङ भण्डारीले पनी उक्त कोष मार्फत बाढी पीडितको लागी सहयोगको घोषण गरेका छन् ।
ढोरपाटन नगरपालिकाका विभिन्न वडामा बाढीबाट अहिले सम्म १४ जनाको शव फेला परेको छ भने २४ जना अझै बेपत्ता छन् । ७५ घर बगाएको छ भने ७० भन्दा बढी घरमा क्षति पुगेको ढोरपाटन नगरपालिकाले जनाएको छ । बाढीमा परेका चार जनाको घाइते अवस्थामा उद्वार गरिएको छ । जसमध्ये गम्भीर अवस्था रहेका ढोरपाटन नगरपालिका ९ का महेन्द्र पुनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ । बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको एक जीप पनि बगाएको छ ।