रविना बोहोरा, बागलुङ, २०७७ भदौ १९ । केही दिन पहिले बागलुङ नगरपालिका—४ कुँडुलेमा खुलेआम जातीय विभेद भएको भन्दै संयुक्त दलित संघर्ष समिति बागलुङले ध्यानाकर्षण गराएको छ । समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय र बागलुङ नगर कार्यपालिकाको कार्यालय बागलुङमा ध्यानाकर्षण पत्र बुझाउदैँ यही भदौ १५ गते दलित समुदायको बदनाम गरेको आरोप लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र राज पन्तलाई समितिका अध्यक्ष टिकाकुमारी विश्वकर्माले ध्यानाकार्षण पत्र बुझाउदै विश्वकर्माले कुँडुलेमा केहि व्यक्तिहरुले दलितलाई पढ्न मात्र नभई टेक्न समेत नदिने खालका वक्तव्य सहितको भिडियो सामाजिक सञ्जालमा समेत छरपष्ट देखिएकाले दलित समुदायका व्यक्तिको अपमान गर्नेहरुलाई कडा कारवाही हुनुपर्ने माग गरिन् ।
वेद र पुराण संगै नेपालको संविधानले पनि विभेद नगरेको भन्दै संविधानमा लेखिएका बिषयको अक्षरस पालना हुनुपर्ने विश्वकर्माको भनाई थियो । साथै उनले दलित समुदायको पक्षमा बोल्ने युवा पण्डित चन्द्रकान्त पौडेलमाथि उक्त समुदायव्दारा भएको व्यवहारको पनि भर्सना गरेको बताएकी छन् ।
२०६८ साल देखि नै दलितलाई पनि मुक्तिनाथ वेद विद्याश्रम संस्कृत पाठशालामा पढाइनुपर्छ भन्ने आवाज उठाउदैँ आएको भएपनि हाल सम्म कुनै सुनुवाई नभएको दलित संघर्ष समितिले जनाएको छ । तर यता मुक्तिनाथ वेद विद्याश्रम संस्कृत पाठशालाका अध्यक्ष सहदेव राजभण्डारीले भने पाठशालामा कुनै पनि खालको विभेद नभएको स्पष्ट पार्दै आएका छन् ।
यस्तै मुक्तिनाथ वेद विद्याश्रम संस्कृत पाठशालाका पीठाधीश स्वामी ऋषीप्रपन्नाचार्यले पनि आफुहरु माथि लगाएको आरोपको खण्डन गर्दै आएका छन् । विद्यालयमा कसैलाई पनि भेदभाव नगरिएको र सीमित स्वार्थका लागि समुदायबीच विभाजन नगराउन उनले आग्रह समेत गरेका छन् ।