लक्ष्मण विश्वकर्मा,पर्वत २०७७ भदौ २७ । पर्वतको फलेवास नगरपालिकामा आर्थिक वर्ष २०७६।०७७ मा सम्पन्न नगर स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ ।
स्वास्थ्य शाखाद्वारा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको प्रगति र आगामी कार्यदिशाका बारेमा शुक्रबार समिक्षा गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पदमपाणी शर्माले आफू सधैं नागरिकको स्वास्थ्यप्रति चिन्तित रहेको बताउदै नगरका कुनै पनि स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिने बताए ।
स्वास्थ्यकर्मीहरुले वडाका स्वास्थ्य चौकीमा जनताको विश्वास जित्नेगरी कार्य गर्नुपर्ने बताउदै कार्ययोजना बनाएर काम सम्पादन गर्न निर्देशन दिए ।
कोरोना महामारीका बिच अग्रपंक्तिमा रहेर उल्लेखनीय कार्य गरेको बताउदै नगरका स्वास्थ्य शाखा प्रमुख लगायत सबै स्वास्थ्यकर्मिको प्रशंसा व्यक्त गर्नुभयो । नगरिकको स्वास्थ्यप्रति सजग भै अझैपनि जिम्मेवार र मर्यादित भएर सेवा प्रवाह जोड दिन आग्रह गरे ।
त्यस्तै नगर उपप्रमुख मन्जु अधिकारीले स्वास्थ्य सामाग्रीको उचित प्रयोग गर्दै कोभिड महामारीका बेला स्वास्थ्य चौकीहरुले गाउँघर क्लिनिक संचालन गरेर जेष्ठ नागरिक तथा बालबालिकाको स्वास्थ्यमा संवेदनशील भएर सेवा प्रवाह गर्नुपर्ने बताए ।
कार्यक्रममा नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाले गत वर्ष नगरमा स्वास्थ्य सम्बन्धि विभिन्न ३८ वटा कार्यक्रम संचालन गरिएको जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा विशेष जोड दिएको बताउदै नगरमा कसैलाई कोरोना देखिएमा उपचारका लागि नगरको वडा नं. ५ मा खानीगाउँ स्वास्थ्य चौकीमा ५ वेडको आइसोलेसन बनाइएको उनले बताए । त्यस्तै वडा नं ६ देविस्थानमा नगर स्तरीय १५ शैयाको अस्पताल स्वीकृत भै संचालनको प्रक्रियामा रहेको, वडा नं. ३ र ११ मा १,१ वटा खोप केन्द्र भवन निर्माण भएको, स्वास्थ्य बिमा कार्यक्रमका लागि दर्ता सहयोगी छनोट गरि आवश्यक तालिम दिएर स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको, कोभिड १९ उपचार तथा रोकथाममा विशेष व्यवस्था मिलाइएको साथै स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराइएको समेत शाखा प्रमुख सापकोटाले जानकारी दिए । त्यस्तै स्वास्थ शाखाले विभिन्न असल अभ्यास र सबल पक्षहरूलाई जोड दिएको उनको भनाई थियो ।
स्वास्थ्य संस्थाहरुमा छाप, बोर्ड र लेटरप्याडको व्यवस्था गरिएको,कर्मचारीको समायोजन तथा व्यवस्थापन भएको, रिक्त दरबन्दीमा करारमा कर्मचारी पदपूर्ति गरिएको, स्वास्थ्य संस्थामा औजार उपकरण व्यवस्थापन गरिएको, औषधि तथा सामाग्रीको अभाव हुन नदिन आवश्यक कदम चालिएको, नियमित खोप सेवालाई नगरभित्र एकै समयमा संचालन गर्ने र हरेक वडामा कम्तिमा ३,३ वटा खोप केन्द्र र गाउँघर क्लिनिक संचालन गर्ने व्यवस्था मिलाइएको र सबै स्वास्थ्य संस्थालाई सामाजिक संजालमा जोड्ने व्यवस्था गरिएको लगायतका कार्य संचालन गरिएको सापकोटाले बतए ।
नगरका सबै स्वास्थ्य चौकी प्रमुखहरुलाई कार्यालयमा समयमै हाजिर भै इमानदार र मर्यादित भएर प्रभावकारी सेवा प्रवाह गर्नको लागि उनले निर्देशन दिए ।
स्वास्थ्य चौकीमा आउने बिरामीलाई नम्र व्यबहारका साथ चेकजाँच गर्नुपर्ने बताउदै आवश्यकता अनुसार औषधि प्रदान गर्न आग्रह गरे । सापकोटाले भने “ कोहि कोहि स्वास्थ्य चौकी आएर अनावश्यक औषधि लगेको पाइन्छ, त्यो औषधि सेवन नगरी घरको छाना,खोप्पामा राख्ने गरिन्छ । त्यसैले चेकजाँच गरेर मात्र आवश्यक औषधि दिनुपर्छ ।“
कार्यक्रममा जिल्ला समन्वय अधिकारी सरोज ढकाल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल, सामाजिक विकास समिति संयोजक तथा वडा नं ९ भंगराका अध्यक्ष गंगाधर शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रममा फलेवास नगरपालिकाका ११ वटै स्वास्थ्य चौकी प्रमुखहरुले गत आर्थिक बर्षमा वडामा संचालन भएका स्वास्थ्यका कार्यक्रमहरुको विवरण प्रस्तुत गरेका थिए । नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाले गरेका थिए ।