रामप्रसाद घिमिरे, पर्वत २०७७ भदौ २९ । पोखरा– बागलुङ सडक खण्ड विभिन्न ठाउँमा गएको पहिरोका कारण बन्द भएको छ ।सडक खण्डको कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा भीषण पहिरो जादा सडक बन्द भएको हो । सोमबार विहान सहस्रधारामा सडक माथिबाट भेल सहितको पहिरो आएपछि सडकको ५० मिटरभन्दा बढी भाग पुरेको छ । सडक बन्द भएपछि गाडी र यात्रु सडकमा नै अलपत्र परेका छन् । पहिरो खसिरहेका कारण सर्वसाधारणले हिँडेर समेत वारपार गर्न पाएका छैनन् ।
सडक सञ्चालनका लागि निर्माणाधीन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका उपकरणको प्रयोग गर्ने तयारी गरे पनि पहिरो खसिरहेका कारण तत्काल काम सुरु गर्न नसकिएको जिल्ला पहरी कार्यलय पर्वतले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएकोले सडक सुचारु गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।
सडकबाट झन्डै ५ सय मिटर माथिबाट गेगर र माटो सहित पहाड झरेकोले सडकको करिब ५० मिटरभन्दा बढी भाग पुरिएको छ । पहिरो खस्न रोकिएपछि काम थाल्दा पनि कम्तीमा ५ घण्टा समय लाग्ने जनाईएको छ ।
कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका गाडी सञ्चालनमा रोक लगाइएका कारण गाडीको चाप नभए पनि खाद्यान्न ढुवानीसँगै बिरामी र एम्बुलेन्सलाई समस्या भएको छ ।
पर्वतको कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका ८ चुवाको भीरमा पहिरोका कारण सोमवार दीनभर भवरुद्ध भएकोमा साझवाट एकतर्फिरुपमा संचालन भएपनि सहस्रधारामा सुक्खा पहिरो खसिरहेकोले सडक खुलाउन समस्या भएको हो । सडक अवरुद्ध हुदा पर्वतको उत्तरी खण्डका साथै बागलुङ, म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधन अलपत्र परेका छन् ।