कुस्मीसेरा २०७७ भदौ ३० । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने नेतृत्वको टोलीले आज जैमिनी नगरपालिका वडा नं १ स्थित टुनिबोटमा भदौ २८ र २९ गते लगातार दुईदिन वर्षाका कारण खसेको पहिरोबाट भएको क्षेतीका बारेमा स्थलगत अनुगमन गरी त्यस्को जानकारी लिएको छ । उक्त पहिरोमा दुई जनाको मृत्यु हुनुका साथै ८ घरहरुमा पूर्णरुपमा क्षेती पुगेको छ ।
टोलीमा सांसद डा सूर्य पाठक, जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी जैमिनीका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद रेग्मी, सशस्त्र प्रहरी बलका नायव उपरीक्षक रमेश गुरुङ, नेपाल रेडक्रसका सदस्य जगन्नाथ आचार्य लगायतको सहभागिता रहेको थियो ।
स्थलगत अवलोकनका क्रममा आयोजित एक कार्यक्रममा पहिरोमा परी ज्यान गुमाएका दुई जनाको आत्माको चीर .शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जलि अर्पण गरिएको थियो । श्रद्धान्जलि सभामा मृतकका आफन्तहरुको समुपस्थिती रहेको थियो । श्रद्धान्जलि सभामा सांसद डा पाठक, प्रजिअ न्यौपाने, नगरप्रमुख पौडेल लगायतले समवेदन प्रकट गरेका थिए ।
सोही अवसरमा पूर्णरुपमा क्षेती भएका ८ घर परिवार प्रत्यकलाई रु १५ हजारका दरले राहत वितरण गरिएको थियो भने रेडक्रसबाट प्राप्त राहत समाग्री वितरण गरिएका थियो। सरकारबाट मृतकका आफन्तले पाउन ेरु २ लाख रुपयाँ पनि यथाशीघ्र उपलव्ध गराईने जानकारी समेत गराईएको थियो । कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत धिरेन्द्र राज पन्त नासु विष्णुप्रसा शर्माले गरेका थिए ।
वर्षा नरोकिएमा टुनिबोटका ३१ घर पहिरोको उच्च जोखिममा रहेको र एक मन्दिर, एक प्राथमिक विद्यालय र एक दुध संकलन केन्द्र समेत जोखिममा रहेको बताईएको छ ।
3 Comments