बागलुङ, २०७७ असोज ११ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक, उपसमितिका सदस्य तथा पत्रकार, कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ एक दिने वाककला तालिम शनिवार सम्पन्न गरेको छ ।
व्यावसायिकताका लागि वाककला तालिम भन्ने नाराका साथ आयोजित तालिमको सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना अनुसारको लक्ष्य प्राप्तिका लागि सक्षम सञ्चालक र दक्ष कर्मचारी आवश्यक रहेको उल्लेख गर्दै हरेक संस्थाका कर्मचारीले आफूलाई सक्षम र क्षमतावान् बनाउनु पर्ने भन्दै शेयर सदस्य लगायत सेवाग्राहीसँग बोल्ने बोलीचाली र व्यवहार पनि परिवर्तन गर्न पर्ने बताए ।
त्यस्तै अर्का प्रशिक्षक नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष तथा संस्थाका कार्यकारी सम्पादक दिल शिरीषले सस्था र जीवनको सफलताका लागि प्रभावकारी वाककला अपरिहार्य भएको बताए ।
वाककला सबै नागरिकलाई आवश्यक हुने भन्दै अध्यक्ष शिरीषले बोलीले मानिसको भोली र भविष्य निर्धारण गर्ने बताए ।
कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थासंग एकीकृत बनेको ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर महतले सहकारी अभियानलाई थप प्रभावकारी र प्रतिस्पर्धात्मक बनाउनका लागि तालिम सहयोगी हुने धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र सचिव ललिता थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थामा कार्यरत पत्रकार, कर्मचारी, संस्थाका संचालक, विभिन्न उप–समितिका पदाधिकारी सदस्यहरु सहित ३४ जनाको सहभागिता थियो ।