Sorry, that menu does not exist.
 

यस्तो छ, ३ नं क्षेत्रका एक नगर र तीन गाउपालिकाहरुको चुनावी विश्लेषण !

बुर्तिवाङ २०७४ बैशाख २८ । स्थानीय तहको निर्वाचनको मतदान गर्ने समय सन्निकट छ । निर्वाचन आयोगका अनुसार अबको २ घण्टापछी मौन अविधी सुरु हुँदैछ । आज अन्तिम दिन दल र उमेदवारहरु प्रचार प्रसार अभियानमा व्यस्त रहेका छन् ।

बागलुङ जिल्लाको सुदूर पश्चिम निसी भूजी क्षेत्र (३ नं क्षत्र) मा रहेको एकमात्र ढोरपाटन नगरपालिका र तमानखोला, निसीखोला र बडीगाड खोला गाउपालिकाका विभिन्न पदका उमेदवाहरु चुनावी सभा, मतदाता भेटघाट एवं घरदैलो कार्यक्रम गरेका छन् ।

अहिलेको अवस्थामा आउदा सम्म कस्तो छ यस क्षेत्रको चुनावी माहोल ? कुन दलका कुन उमेदवारको के छ स्थिति ? कस्तो छ चुनावी तालमेल र जोडघटाउ ? यस्तो छ, ३ नं क्षेत्रका चुनावी विश्लेषण :

* तमानखोला गाउँपालिका

जिल्लाको पश्चिम तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा, एमालेका दल प्रसाद सापकोटा र माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका तर्फबाट संयुक्त तालमेलगरि सुर्य सिर्पाली अध्यक्ष पदमा उमेदवारी दिएका छन् । उपाध्यक्ष पदमा भने काँग्रेसबाट मानकुमारी शेरचन र राष्ट्रिय जनमोर्चा तर्फबाट डोरबहादुर क्षेत्री रहेका छन् ।

सामान्य मत आँकलन गर्दा हालको तमानखोला गाउँपालिकामा साविकको तमान, खुँगखानी र बोंगादोभान गाविस जोडिएका छन् । हाल ६ वडा कायम गरिएको तमानखोला गाउँपालिकाको वडा नं. ३ र ६ मा काँग्रेसका वडा अध्यक्ष निर्विरोध भइसकेका छन् ।

तमानखोला गाउँपालिकामा काँग्रेस अग्र पक्तिमा रहेको देखिन्छ । जोकलाल बुढा त्यहाँ अघि देखिएका छन् । यद्यपि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष पदमा उमेदवारी दिएका सूर्य सिर्पालीको पक्षमा दलित समुदायको बढी मत जाने हुनाले काँग्रेस उमेदवारलाई टक्कर दिन सक्ने आँकलन स्थानीयको छ ।

काँग्रेसको बाहुल्य क्षेत्र भएकाले काँग्रेसको मत आफ्नो पार्टिलाई जाने हुँदा काँग्रेसले नै अध्यक्ष र उपाध्यक्ष पदमा विजयी हासिल गर्ने हो कि भन्ने एकाथरीको तर्क छ । तर उता राष्ट्रिय जनमोर्चाका तर्फबाट उपाध्यक्ष पदमा उमेदवार बनेका डोरबहादुर क्षेत्री युवा र शिक्षत उमेदवार भएकाले पनि जनताले सक्षम मान्छे छान्ने अवसर पाए र छाने भने उनी पनि उपाध्यक्ष पदका शक्तिशाली उमेदवार भएको स्वयं काँग्रेसका अगुवा कार्यकर्ताहरुको भनाई छ ।

तमानखोला गाउँपालिकाको अधिकाँश वडामा काँग्रेस र केही वडामा माओवादी आउन सक्ने देखिन्छ ।

**निसीखोला गाउँपालिका

निसीखोला गाउँपालिकाका अध्यक्ष पदमा काँग्रेसबाट तारानाथ शर्मा, माओवादी केन्द्रबाट प्रेम घर्ति र राष्ट्रिय जनमोर्चाबाट एमालेसँगको तालमेलबाट खिम विक्रम शाही र काँग्रेसबाट असन्तुष्ट प्रकाश कुवँरले अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।

निसीखोला गाउँपालिकामा सबै दल एक्ला एक्लै हुँदा काँग्रेस नै बलियो शक्ति हो । यसरी हेर्दा निसीखोला गाउँपालिकामा तारानाथ पौडेल अग्र पंक्तिमा देखिएका छन् । तर काँग्रेसबाट बागी उमेदवारी दिएका राजकुतका प्रकाश कुवँरले काँग्रेसको मत काटने पक्कापक्की छ । राजकुत अर्थात हालको निसीखोला गाउँपालिका वडा नं. ७ बाट काँग्रेसले उमेदवारी पाएन । उक्त वडाबाट काँग्रेसका तर्फबाट वडा अध्यक्ष पद सहित सदस्य पद पाएका सबै उमेदवारहरु स्वतन्त्र चिन्ह लिएर प्रकासलाई नै मतदान गर्ने पक्का भएको छ ।

यसर्थ बागी उमेदवार बनेका प्रकाश कुवँरले गाउँपालिकामा १ हजार मत काटे भने काँग्रेसका उमेदवार पौडेल अफ्ठेरोमा पर्नेछन् । त्यसको सिधा फाईदा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीलाई हुने छ । माओवादी केन्द्रबाट उमेदवारी दिएका प्रेम घर्ति तेस्रो स्थानमा आउने आँकलन गरिएको छ ।

उता दुई बाम पार्टि एकठाउँमा आएर उमेदवारी दिएका शाहीले नै निसीखोला गाउँपालिकामा विजयी हात पार्न सक्ने माओवादी कार्यकर्ताहरुको समेत आँकलन छन । उता उपाध्यक्ष पदमा काँग्रेसका शोभा कुमारी कार्की , एमालेका रुद्र पौडेल र माओवादी केन्द्रका यसोदा रेग्मी छन् । उनीहरुबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

***बडीगाड गाउँपालिका

बडीगाड गाउँपालिकामा प्रमुखको पदमा काँगे्रसबाट गण्डकी थापा अधिकारी, एमाले र माओवादी केन्द्रको तालमेलबाट मेयरसिंह पाईजा र राष्ट्रिय जनमोर्चाबाट भिमसेन वन उमेदवार छन् । उनीहरु मध्ये काँग्रेसका गण्डकी थापा अधिकारी र मेयरसिंह पाईजाबीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय जनमोर्चाका उमेदवार भिमसेन वन जिल्लास्तरका प्रभावशाली युवा नेताका रुपमा चिनिएको भएपनि आफ्नो गाउँपालिकामा नयाँ मान्छे देखिएका छन् ।

काँग्रेसको बाहुल्य क्षेत्र भएको बडीगाडमा काँग्रेसले जित्ने जनमानसको आँकलन छ तर पछिल्लो समयमा एमालेको बढदो प्रभाव र माओवादी केन्द्रसँगको तालमेलका कारण त्यस गाउँपालिकामा एमाले पनि कमजोर नरहेको विश्लेयाण गरिएको छ ।

उपाध्यक्ष पदमा जस्को अध्यक्ष आउँछ उसैको उपाध्यक्ष हुने आँकलन गरिएको छ । उक्त गाउँपालिकामा अधिकतम स्थानमा काँग्रेसलेनै वडा अध्यक्ष लिन सक्ने र त्यसपछि केही स्थानमा तालमेलबाट एमाले र माओवादीले वडा अध्यक्ष पद लिन सक्ने अनुमान गरिएको छ । उक्त गाउँपालिकाको वडा नं. २ र १० मा राष्ट्रिय जनमोर्चा आउन सक्ने बताइएको छ ।

ढोरपाटन नगरपालिका

ढोरपाटन नगरपालिकामा मेयर पदमा काँग्रेसका अर्जुन शेरचन, एमालेबाट देवकुमार नेपाली, माओवादी केन्द्रबाट शेरमान घर्ति मगर र राष्ट्रिय जनमोर्चाबाट गौरीश्वर पाण्डेले उमेदवारी दिएका छन् । यता सामान्य जनमत भएको राप्रपाबाट निमबहादुर भण्डारी र नयाँ शक्ति पार्टिबाट टेकबहादुर कुवँरले उमेदवारी दिएका छन् ।

ढोरपाटन नगरपालिकामा एक्ला एक्लै उमेदवारी दिंदा काँग्रेस नै अघि देखिएको छ । माओवादीलाई भत्काएर एमालेमा प्रवेश गरेका देवकुमार नेपाली पनि अव काँग्रेसका उमेदवारलाई टक्कर दिने देखिएका छन् । नेपाली दलित समुदायका भएकाले पनि यहाँका दलित समुदायले दलित उमेदवार चयन गरे भने दलितको अत्यधिक दलित मत नेपालीलाई जाने अनुमान गरिएको छ ।

उता माओवादी केन्द्रका अधिकाँस कार्यकर्ता, समर्थक समेत नेपालीको पक्षमा प्रचारमा हिडेकाले उनको पक्षमा जनमत गयोकि भन्ने अनुमान गर्ने अवस्था पनि देखिएको छ । उता राष्ट्रिय जनमोर्चाका गौरीश्वर पाण्डेले पहिलो त आफ्ना पार्टिका मतलाई सुरक्षित गर्ने देखिएको छ । यद्यपि अरुउमेदवार भन्दा फरक ढंगले हेरियो । उनी सधै स्थानीय स्तर मै रहने अरु उमेदवारहरुकोही काठमाडौ बस्ने र कोही पोखराबस्ने भएकाले स्थानीयलाई नै चयन गरौं भन्ने मतदाताको विवेक पुग्यो भने पाण्डे पनि दावेदार उमेदवारका रुपमा आउन सक्ने कुरालाई नकार्न सकिन्न ।

उपमेयर पदमा भने राष्ट्रिय जनमोर्चाका तर्फबाट दुर्गादेवी घर्ति पाको मान्छे भएकाले उनी आउने आँकलन छ भने उता काँग्रेसका तर्फबाट दलित महिला उमेदवार समेत रहेकी दीलमायाँ पौवी पनि कम प्रभावकी उमेदवार देखिन्नन् ।

ढोरपाटन नगरपालिकाका वडा नं. १, २, ८ मा काँग्रेस आउने देखिन्छ भने वडा नं. ३ मा माओवादी केन्द्रसँग तालमेल गरेको क्रान्तिकारी माओवादी आउने आँकलन गरिएको छ । वडा नं. ६ , ८ र ९ मा माओवादी केन्द्र आउने केन्द्रको दावी छ । यद्धपि एमालेले पनि वडा नं. ६, ८ र ९ मै आफ्नो बाहुल्य मत आउने दावी गरेको छ ।

राष्ट्रिय जनमोर्चाले वडा नं. २, ३, ४ र ७ लाई आफ्नो पक्षमा ल्याउन सक्ने वडा भनेर दावी गरेको छ । उता वडा नं. ६ मा छन्त्याल समुदायबाट उमेदवार उठाएको राजमोले, त्यहाँपनि दावी गरेको छ । जनमोर्चाले ती स्थानमा वडा अध्यक्ष जित्यो भने मेयर पदमा पनि प्रतिस्पर्धि दावेदारका रुपमा प्रस्तुत गर्ने देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply