केशव वि.क मुस्ताङ, २०७४ बैशाख २९ । चुनावको बेलामा आर्थिक चलखेल हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले मुस्ताङले शुक्रबार विहान हेलिकप्टरको खानतलासी गरेको छ । चुनाव नजिकिँदै गर्दा आर्थिक चलखेल हुने जनगुनासो बढेपछि खानतलासी गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताए ।
9N-ALS हेलिकप्टरमा शुक्रबार बिहान ७ः४५ बजे मुस्ताङ आएका तारा एयरका संचालक आङ छिरिङ शेर्पा र मुस्ताङका स्थानिय उत्तम गुरुङ सहितको टोली जोमसोम एयरपोर्टमा उत्रिएपछि आर्थिक चलखेल गर्ने आशंकामा प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा चेकजाँच गरिएको हो ।
चेकजाँचको क्रममा एयरपोर्टमा पुगेका नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले चुनावको पेरीफेरीमा शंकास्पद रुपमा जिल्लाका विभिन्न स्थानको भ्रमण गर्दा आर्थिक चलखेल हुने भन्दै यस्ता गतिविधिलाई तत्काल बन्द गरी जनतालाई स्वतन्त्ररुपमा मतदान गर्ने वातावरण सृजना गर्नुपर्ने बताए ।
शेर्पा हिजो बैशाख २८ गते मुस्ताङको कोवाङस्थित नाउरीकोटको थासाङ भिलेजमा हेलिकप्टर चार्टर गरी आएको र थासाङ भिलेजको ल्याण्डरोभर गाडी चढी लेते कालीपानी स्थित वाणिज्य मन्त्री रोमी गौचन थकालीको घरमा गई मन्त्रीसंग भेटघाट गरी फर्किएको संविधानसभा २०६८ का स्वतन्त्र उम्मेदवार प्रेमप्रसाद तुलाचनले बताए ।
त्यसपश्चात शेर्पा २९ गते हेलिकप्टर मार्फत उपल्लो मुस्ताङको भ्रमणमा आएका हुन् । चुनावको संघारमा वाणिज्य मन्त्री र शेर्पाको साँठगाँठले चुनावमा चलखेल हुनसक्ने विभिन्न राजनीतिक दल र स्थानियको ठम्याई छ ।
यसैवीच मन्त्री थकालीको नेतृत्वको टोलीले जिल्लाका पाँच गाउँपालिकाका विभिन्न ठाउँमा पैसाले मत किन्न थालेको बताईएको छ । ६ लाखको चेक साटी पाउरोटीको प्याकमा गाउँगाउँमा पैसा पु-याएर बाँडेको दोस्रो संविधान सभाका स्वतन्त्र उम्मेदवार प्रेमप्रसाद तुलाचनले बताए ।
उनका अनुसार नेपाली कांग्रेस मुस्ताङले थासाङ गाउँपालिकाको ताक्लुङमा २ लाख, देउरालीमा १ लाख पैसा बाँडेको छ ।
कोरला नाकामा जाने अनुमति लिएर आएका वाणिज्य मन्त्री गौचनले चुनाव प्रचार प्रसार गरी अभिव्यक्ति दिँदै हिडेको भन्दै ठाडो उजुरी पर्न आएको मुस्ताङका मुख्य निर्वाचन अधिकृत एवं माननीय जिल्ला न्यायधीश बलराम त्रिपाठीले जानकारी दिए ।
मन्त्रीले निर्वाचनको आचारसंहिता विपरित कार्य गरेको हामीलाई पनि जानकारी आएको छ । मन्त्रीज्युलाई आचारसंहिता विपरित कार्य नगर्न फोन मार्फत हामीले भनेका छौँ । र यस बारेमा हामीले निर्वाचन आयोगलाई पनि जानकारी पठाईसकेका छौँ त्रिपाठीले भने ।
निर्वाचनको आचारसंहिता विपरित आर्थिक चलखेल गरेको जानकारी प्राप्त भएतापनि हामी कारबाही गर्ने निकायमा नभएकाले त्यसको सूचना निर्वाचन आयोगमा पठाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोरखेलले बताए ।