बागलुङ २०७४ बैशाख ३० । स्थानीय तहको निर्वाचनको मिति एक दिन बाँकी रहँदा बागलुङ जिल्लाका नगर र गाउपालिकाहरुमा कुन दल र को उमेद्वारले चुनाव जित्छ भन्ने लेखाजोखा सुरु भएको छ । आम नागरिकको ध्यान निर्वाचन मै केन्द्रित छ भने चुनावी पण्डितहरु जीत-हारको विश्लेषणमा लागेका छन् ।
बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकाहरुमा सबै दल र उमेद्वारहरुले आफु बलियो बताई रहँदा समष्टिगतरुमा जिल्लाका अधिकाँश गाउ र नगरपालिकामा नेपाली काँग्रेस बलियो देखिएको छ भने दोश्रो शक्तिको रुपमा एमालेको संयुक्त प्यानल रहेको छ । तेश्रोमा राष्ट्रिय जनमोर्चा देखिएको छ । यस चोटीको स्थानीय तहको निर्वाचनमा आन्तरिक बिबादले माओवादी केन्द्र चकनाचूरको स्थितिमा पुगेको राजनीतिक बृत्तमा विश्लेषण गरिएको छ । माओवादी केन्द्रको एकमात्र आशाको केन्द्र ताराखोला गाउपालिका देखिएको छ । राजमो केहि गाउपालिकाहरुमा सशक्त देखिएको छ भने राप्रपाको आँखा बागलुङ नगरपालिकाको उपमेयर पदमा मात्रै टिकेको छ । संघीय समाजवादी र जनशक्ति नेपाल लगायत अन्य दल वा स्वतन्त्र उमेदवारहरुको त्यति चर्चा हुनेगरेको देखिन्न ।
सर्वाधिक चर्चा र चासोमा रहेको बागलुङ नगरपालिकामा नेपाली काँग्रेस र एमाले संयुक्त प्यानलवीच निकै नजिकको प्रतिष्पधा रहेको छ । यसैले यहा मेयर र उपमेयरमा कस्ले जीत्छ भन्न सकिने अवस्था नरहेको धेरैको बुझाई छ ।
एमाले राप्रपा र राजमो गठबन्धनका कारण काँग्रेसलाई बागलुङ नगरपालिका हात पार्न फलामको च्यूरा सावित हुने पक्कै छ । विश्लेषकहरु भन्छन्, माओवादी केन्द्रले मैदान छोडेको स्थितिमा उनिहरुको मत कता जान्छ त्यस्ले पनि चुनावी जोडघटाउमा असर पर्छ, अर्कोतिर संयुक्त प्यानलका पार्टी र उमेदवारहरुले कत्तिको धर्म निर्वाह गर्छन, नारा एकातिर मत अर्कोतिर खसाल्ने होकि भन्ने आशंका पनि कायमै रहेको बेला पछिल्लो समय तालमेली उमेदवारहरुले ठाउँ र अवस्था हेरेर मतदाताहरुवीच मलाई नछुटाउनु होला… को प्रचारशैली, बागलुङ नगरपालिकामा समाहित हुन आतुर साविक पैयुँपाटा, नारायणस्थान, अमलाचौर र रायडाँडा गाविसबाट नेपाली काँग्रेसले उपमेयर पदमा उमेदवार नबनाउनुको कारणले चुनावी नतिजामा अन्तर आउन सक्ने कुरालाई नकार्न सकिन्न, राजनैतिक दलहरुवीच राष्ट्रियरुपमा भएका अपवित्र गठवन्धन र बेतालको चुनावी तालमेललाई नरुचाउने मतदाताहरुले क्रस भोटिङ गर्ने निश्चित भएकाले झिनो मतान्तरमा रहेको काँगे्रस र एमाले गठवन्धन कसले विजयश्री प्राप्त गर्ला भनेर अहिले नै पूर्वानुमान गनृ सकिने स्थिति छैन ।
उता ढोरपाटनलाई नेपाली काँग्रेसको बलियो पकड भएको नगरपालिका मानिएपनि पछिल्लो राजनीतिक समीकरणले त्यहाँको अवस्थामा परिवर्तन आएको छ । राष्ट्रिय जनमोर्चा संग तालमेल गरेर उपमेयर पदमा चित्त बुझाउने अवस्थामा रहेकोे एमालेले मनोनयन दर्ता गर्ने अन्तिम समयमा तिलस्मीरुपले माओवादी निकटका ‘बलियो’ उमेदवार हातपरे पछी एमाले एक्लै चुनावी दौडमा होमिएको छ । माओवादी केन्द्र र जनमोर्चालेपनि आफुलाई मजबूत स्थितिमा रहेको बताई रहदा यसै भनेर अग्रिम चुनावी आँकलन गर्न सकिने अवस्था छैन ।
मनोनयन दर्ता गरेकै दिन देखी एमाले उमेदवारबाट ठुलाठुला आश्वासनकोे वर्षा भैरहेको र आर्थिक चलखेल बढेकोले चुनावी नतिजामा अन्तर आउन सक्ने देखिन्छ । सरसरती हेर्दा ढोरपाटनमा काँग्रेस, एमाले र माओवादी केन्द्र वीच त्रिपक्षीय भीडन्त हुने देखिन्छ ।
काँग्रेसको पकड मानिएको साविक बुर्तिवाङ गाविस हाल ढोरपाटन नगरपालिकाको १ र २ नं वडाको मताकर्षित गर्ने पछिल्लो धन्धामा एमाले सफल भएमा काँग्रेसलाई ठुलै धक्का पुग्ने निश्चित छ भने काँग्रेसका मत एमालेतिर गए यी वडाहरुमा जनमोर्चाको स्थिति बलियो हुने देखिन्छ ।
यसैवीच एमाले नगरपालिकाका केहि वडाहरुमा जनमोर्चाका उमेदलारलाई सहयोग गर्ने विश्वास दिलाएर मेयरमा मत तान्ने दाउमा रहेको छ ।
गल्कोट नगरपालिको निर्वाचनलाई नजिबबाट हेरिरहेकाहरुले मेयर र उपमेयरमा काँग्रेसको जीत सुनिश्चित भएको विश्लेषण गरिरहेका छन् । गल्कोटमा न काँग्रेस भित्र बिद्रोह छ न राजमो एमाले गठबन्धन र माओवादी केन्द्रको संगठन बलियो छ, त्यसार्थ गल्कोट जिल्लामै काँग्रेसको विजय सुनिश्चित नगरपालिका भनेर चिनिएको गल्कोट नगरवासीको भनाई छ । गल्कोटमा जनमोर्चा र केन्द्रले वडाहरुमै चित्त बुझाउनु पर्ने देखिन्छ ।
जिल्लाको दक्षिण क्षेत्रमा रहेको जैमिनी नगरपालिकामा नेपाली काँग्रेस र राजमो एमाले गठवन्धनवीच चुनावी प्रतिष्पर्धा रहेको छ । पछिल्लो समय मतादातहरु नेपाली काँग्रेसबाट उठेका मेयर उपमेयरका उमेदवार प्रति बढी आकर्षित बनेकाले उनिहरुले जीत्ने संकेत मिलेको हो । अन्य दलहरुले भने नगरपालिकाका वडाहरुमा सफलता हात पार्ने संभावना भने कायमै छ ।
उता सदरमुकामसंग जोडिएको काठेखोला गाउपालिकामा एमाले, राजमो, राप्रपा, माओवादी तालमेलले नेपाली काँग्रेसलाई ठुलै धक्का दिने स्थिति सिर्जना भएको छ । एमालेका नेता कार्यकर्ताहरुले काठेखोलाको जीतलाई प्रतिष्ठाको रुपमा लिएर प्रचार प्रसारमा न्वारन देखीको बल खर्चिएको अवस्था छ । यस गाउपालिकामा काँग्रेसले जीत्न धेरै पसिना बगाउनु पर्ने निश्चित छ । अहिलेकै स्थितिमा काठेखोलामा कस्ले बाजी मार्ला भनेर पूर्वानुमान गर्न सकिने अवस्था छैन ।
गुल्मी जिल्लासग सीमा जोडिएको बरेङ गाउपालिकाको प्रमुख र उपप्रमुख पदमा राष्ट्रिय जनमोर्चाका उमेदवार अहिले आएर बलियो देखिएका छन् । माओवादी केन्द्रले नेपाली काँग्रेससंग चुनावी तालमेल गरेर प्रमुख पद लिएर अन्य सबै पदहरुमा काँग्रसलाई छोडेको र चुनाव चिन्ह पनि रुख लिएको कारण रुष्ट माओवादीका मतदाताहरुको मत समेत राजमोले पाउने संभावनाले गर्दा यहाँ राजमोको संभावना बढेको हो ।
यस्तै निसीखोला गाउपालिकामा पछिल्लो समय नेपाली काँग्रेसबाट बागी बनेर स्वतन्त्र उमेदवारी दिएकाले आधिकारिक उमेदवारकै हाराहरीमा मत ल्याउने परिस्थिती विकसित भएपछी यहाँ राजमो र दुई काँग्रेसबीच त्रिकोणीय प्रतिष्पर्धा देखिएको हो । जस्ले गर्दा राजमोका उमेदवार चुनावी दौडमा अगाडी आउने देखिन्छ ।
बडीगाड नेपाली काँग्रेसको विजय सुनिश्चित भएको दावी गरिने गाउपालिका हो । यो गाउपालिकामा समावेश गरिएका साविक गाविसहरुमध्य अधिकाँशमा संगठनात्मक तवरले नेपाली काँग्रेस बलियो रहेको छ । बडीगाडमा नेपाली काँग्रेसको चूरीपूmरी हेर्ने हो भने एमाले, जनमोर्चा र माओवादी केन्द्रले वडाहरुमा चित्त बुझाउनु पर्ने अवस्था देखिएका छ । उता तमानखोला गाउपालिकामा पनि ठुला पदहरुमा काँग्रेसकै बर्चस्व रहने पक्कै छ ।
जिल्लाको ताराखोला एकमात्र यस्तो गाउपालिका देखिएको छ जहाँ माओवादी केन्द्रले खाता खोल्न सक्छ । यहाँ माओवादी केन्द्र, नेपाली काँग्रेस र एमाले राजमो संयुक्त प्यानलवीच त्रिपक्षीय चुनावी भीडन्त रहेको छ । माओवादी केन्द्रले ताराखोला गाउपालिकाको प्रमुख पद हातपार्ने संभावना रहेकाले पाटीको संपूर्ण ध्यान केन्द्रित गरेको छ ।
* ईबागलुङ डेस्क, बागलुङ ।
योपनि पढ्नु होस:
यस्तो छ, ३ नं क्षेत्रका एक नगर र तीन गाउपालिकाहरुको चुनावी विश्लेषण !