थम्मन थापा सन्देश बागलुङ २०७४ जेठ १४ । बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाहरुमा मोवाइल सेवा विस्तारले तीव्रता पाएको छ । चारै जिल्लाहरुका सबै ठाउँमा सेवा पुग्ने गरी काम अघि बढेको हो । चारै जिल्लाका दुर्गम भेगमा टेलिकमको सेवा प्रभावकारी हुन नसकेको जनगुनासो बढेपछि टेलिकमले काम तीव्र बनाएको हो । म्याग्दीको दाना, मुना बागलुङको बिनामारे, निसी, बोवाङ लगायतका ठाउँमा हालै मात्र सेवा पुगेको छ ।
पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम बागलुङले जनाएको छ । यस क्षेत्रमा रहेका ८६ वटा ‘जिएसएम, बिटियस’ टावरलाई बढाएर चालु आवभित्र १२० पु¥याउने लक्ष्य रहेको टेलिकमले जनाएको छ । सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकताका साथ काम भइरहेको र छिट्टै चारै जिल्ला भरी गुणस्तरीय सेवा पु¥याइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए।
सेवा अपुग रहेको ठाउँबाट माग भई आएमा तत्काल सम्बोधन गर्न दर्जन भन्दा बढी ठाउँमा टावर निर्माणाधीन अवस्थामा रहेको र कतिपय ठाउँको सम्झौता भई उपकरण आउने चरणमा रहेको उनले बताए ।
जिल्ला सदरमुकाम र बजार क्षेत्रबाट नजिक भएर पनि स्तरीय सेवाबाट वञ्चित ठाउँमा समेत टावर निर्माण भइरहेको छ । नयाँ ‘जिएसएम, बिटियस’ टावर बागलुङको खुङ्गा, दुदिलाभाटी, रायडाँडा, पैंयुपाटा, भीमापोखरा, भकुण्डे, पर्वतको लेखफाँट, लुङ्खु देउराली, मुडीकुवा, म्याग्दीको गुर्जा, चराङ, तिप्ल्याङ, तातापानी, मुस्ताङको घासा, खर्साङ लगायत ठाउँमा टावर निर्माण हुने अवस्थामा छ । नयाँ बन्ने सबै टावर सञ्चालनमा आएपछि चारै जिल्लाका सम्पूर्ण ठाउँमा मोबाइल सेवाको पहुँच पुग्ने जनाइएको छ । सेवा मात्र नथपेर गुणस्तरलाई समेत विशेष ध्यान दिइएको कार्यालयका इन्जिनियर अमृत नेपालले बताए। नयाँ थप गरिएको प्रविधिबाट ‘भ्वाइस’ र ‘डाटा’ दुवैमा ग्राहकले गुणस्तरीय सेवा पाउने उनको भनाइ छ ।
मोबाइल सेवा पुगेसँगै ग्राहकले अत्याधुनिक प्रविधिको ‘थ्रिजी’ सेवासमेत प्रयोग गर्न पाएका छन् । इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारलाई समेत सँगसँगै लगिएको इन्जिनियर नेपालको भनाई छ । चार जिल्लाका ७३ ठाउँबाट ‘थ्रिजी’ सेवा दिने तयारीमा टेलिकम रहेको जनाएको छ । अहिले ५० भन्दा बढी ठाउँबाट सेवा प्रवाह भइरहेको र सेवा विस्तारले चारै जिल्लाका अधिकांश भू–भागमा ‘थ्रिजी’ को पहुँच पुग्ने जनाइएको छ । अहिले पुरानो ‘टुजी’ सेवामा पनि स्तरोन्नतिको काम धमाधम भइरहेको टेलिकमले जनाएको छ ।