Sorry, that menu does not exist.
 

‘जनतालाई व्यवसायिक बनाउन सहकारी प्रवद्र्धन आवश्यक’-जिसी

म्याग्दी, २०७३ पुस २९ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले ग्रामिण क्षेत्रको आर्थिक विकासका लागि सहकारीहरुलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिएका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको शुक्रवार आयोजित नवौ वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताएका हुन् ।

सहकारीलाई केवल पैसा किनवेच अर्थात नाफा कमाउने संस्थाको रुपमा नभई सदस्यहरुको सिप, दक्षता र क्षमता अभिवृद्धि गरी उनीहरुलाई आयआर्जनतर्फ केन्द्रीत गर्नु पर्ने उनको भनाई थियो ।

अधिकांश बजारका सहकारी र त्यसमा आवद्ध सञ्चालक तथा शेयर सदस्यहरु नाफामुखी बनेको भन्दै जिसीले नाफासंगै सेवा भएन भने त्यो सहकारीको मूल भावना भन्दा बाहिर जाने धारणा राखेका थिए ।

सहकारीहरुले आफुले सञ्चालन गरेको कारोबार नीति संगत सञ्चालन गर्न, रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्न र वित्तीय तथा जोखिम व्यवस्थापन गरेर अगाडि बढ्न सहकारीका सञ्चालकहरुलाई आग्रह गर्दै सहकारी क्षेत्रको प्रवद्र्धनका लागि जिल्ला स्तरीय संघहरुको प्रवद्र्धन आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका सल्लाहकार देउप्रसाद छन्त्याल र दोभान कृषि सहकारी संस्थाका अध्यक्ष अमृतदेवी भण्डारीले सहकारी संघले प्रारम्भिक सहकारीमा आवद्ध सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।
साधारणसभामा प्रगति प्रतिवेदन अध्यक्ष प्रेमबहादुर कार्की, आर्थिक प्रतिवेदन कोषाध्यक्ष जमुना आचार्य र लेखा समितिको प्रतिवेदन सुरेन्द्रराज शर्माले प्रस्तुत गरेका थिए ।

कार्यक्रम संघका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, सचिव रामप्रसाद सुवेदीको सञ्चालन र कोषाध्यक्ष जमुना आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।

साधारणसभाले म्याग्दीमा सञ्चालित सबै सहकारी संघ संस्थाहरुलाई संघमा आवद्ध गराउने, शेयर रकम वृद्धि गर्ने, सहकारीका सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply