लोकेन्द्र निरासी, बुर्तिबाङ २०७४ असार ९ । बुर्तिबाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालयमा २०७३ सालको एसईई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई विद्यालयले विहिबार एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक धन बहादुर कुँवरको अध्यक्षता रहेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडा बहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि कुँवरले सरकारी विद्यालयहरुमा शैक्षिक व्यवस्थापन राम्रो गर्न सके र विद्यार्थीहरुले पनि अनुशासित एवं मिहिनेतका साथ अध्ययन गरे राम्रो नतिजा हासिल गर्न सकिने भन्दै उत्तीर्ण हुने सबै विद्यार्थीहरुलाई बधाइ एवं शुभकामना दिए ।
सो अवसरमा विद्यालयका एसईई परीक्षा दिएका विद्यार्थीहरु मध्ये ए ग्रेड ल्याउन सफल जानकी कुँवरलाई फूलमाला अविर लगाएर नगद पुरस्कार सहित मायाको चिनोले सम्मान गरिएको थियो भने अन्य उत्तीर्ण सबै विद्यार्थीहरुलाई फूलमाला र मायाको चिनोले सम्मान गरिएको थियो ।
त्यसैगरि विभिन्न ग्रेडमा उत्तीर्ण हुन सफल विद्यार्थीका अभिभावकहरुलाई समेत कार्यक्रमको अवसरमा फूलमाला र अविरले सम्मान गरिएको थियो ।
विद्यालयको प्रधानाध्यापक धन बहादुर कुँवरले विद्यालयले विगतको तुलनामा राम्रो नतिजा लिन सफल भएको भन्दै उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई एवं शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक नवीन जी.सी., लोकेन्द्र सुनार, पदम छन्त्याल, गीता कुमारी घिमिरे लगायतले बधाई एवं शुभकामना मन्तव्य ज्ञापन गरेका थिए ।
सेहि अवसरमा शिक्षक अभिभावक संघको तर्फबाट खगिसरा पाण्डे, र उत्तीर्ण हुने विद्यार्थीहरुको तर्फबाट जानकी कुँवर र विद्यार्थीको तर्फबाट गंगा चालिसेले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमकै अवसरमा विद्यालयले हरेक वर्ष वितरण गर्ने गरिब तथा जेहेन्दार छात्रवृति समेत वितरण गरिएको छ । जसअनुसार सन्तकुमारी मल्ल छात्रवृतिबाट मा.वि. तर्फ कक्षा १० का विपिन छन्त्याल र कक्षा ९ की रमा कँडेल, त्यसैगरि निमावि तर्फ कक्षा ६ का थम्मन थापा र कक्षा ८ की रमिता भट्टराई र प्रा.वि.तर्फ कक्षा ४ का सरोज बुढा र कक्षा ५ की शिला श्रेष्ठ पुरस्कृत भएका छन् ।
त्यसैगरि मनदेवी भट्टचन छात्रवृतिबाट कक्षा ७ का सुनिल थापा र कक्षा ९ की देवी पौडेल पुरस्कृत भएका छन् भने जीतलाल खनाल छात्रवृतिबाट कक्षा ९ की रमा वि.क., कक्षा ८ की मिनु भण्डारी र कक्षा १ की सुमना घर्ती पुरस्कृत भएको विद्यालयले जनाएको छ ।
विद्यालयका शिक्षक नगेन्द्र खरेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन शिक्षक हिरालाल पौडेलले गरेका थिए।