बागलुङ २०७३ माघ १ । नेपालको समस्त भूभागमा बसोवास गर्ने क्षेत्री, ब्राह्मण, मगर, छन्त्याल, नेवार, राई, लिम्बु, थारु लगायत सबै जातजातिले आआफनै परम्परा र सस्कृति अनुसार अति महत्वका साथ मनाउने एउटै पर्व हो माघे सक्रान्ति । आज माघ महिनाको पहिलो दिन अर्थात माघे सक्रान्तिलाई मकर सक्रान्ति माघी आदि नामले पुकारिने गरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार माघे सक्रान्तिका दिन देखी सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यसलाई मकर सक्रान्ति भनिएको हो । धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यस दिन पवित्र नदी नालाहरुमा स्नान गरी पूजा पाठ गरेर घिउ, तरुल, गुँड, तीलको लड्डू खाएर मनाईन्छ ।
कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालको चितवनको देवघाट , नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, म्याग्दी, बागलुङ र पर्वतका कालीगण्डकी तटीय धार्मिक स्थलहरुमा स्नान गर्ने र मेला भर्नेहरुको बिहान सवेरै देखी ठुलो भीड लागेको छ ।
अवसरमा म्याग्दीको सदरमुकाम वेनीबजारमा मगर तथा छन्त्याल समुदायले आआफनै ढंगले विभिन्न झाँकी सहितको जुलुसले नगर परिक्रमा गरेर उत्साहपूर्वक माघे सक्रान्ति पर्व मनाउछन् । मगर समुदायको बाहुल्यता रहेको म्याग्दीमा माघे सक्रान्ति पर्व निकै दर्शनीय मानिन्छ । माघे सक्रान्तिको महत्वलाई मध्यनजर गरी माग्दी उद्योग व्यापार संघको महिला विभागले वर्षेनि भव्य मेलाको आयोजना गर्दै आएको छ । हिँजो शुक्रवार नै सांसद नरदेवी पुनले वेनी बजार स्थित वीरेन्द्र चोकमा आयोजित एक कार्यक्रमका वीच माघे सक्रान्ति मेलाको उद्घाटन गरेकी छिन् ।
बागलुङ, गुल्मी, पर्वत जिल्लाहरुका विभिन्न क्षेत्रहरुमा बसोवास गर्ने मगर र छन्त्याल समुदायले घिउ तरुल तील गुँड खाने भन्दा पनि जातिय संस्कृति झल्किने कार्यक्रमहरु गरी वार्षिकोत्सवको रुपमा माघे सक्रान्ति मनाई रहेका छन् ।
उता थारु समुदायमा यसलाई माघी भनिन्छ । यस दिन थारु समुदायले मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ।