सुमन सुनार, बुर्तिवाङ २०७४ असार ११ । ढोरपाटन नगरपालिका वडा नं. ४ साविक खुंगा गाउँ विकास समिति वडा नं. ६, ७ र ९ का महिलाले संयुक्त रुपमा महिला सामुदायिक भवन निर्माण गरेका छन् ।
साविक खुंगा गाँउ विकास समिति वडा नं. ७ को चेनेखोला भन्ने स्थानमा गत जेठ १८ गतेबाट निर्माण थालिएको एक कोठे भवन निर्माण कार्य शनिवार मात्र सम्पन्न भएको सुनौलो विहानी महिला समुहकी अध्यक्ष टेकसरा अर्गेजाले बताईन् ।
महिलाले गाँउ स्तरिय कार्यक्रम, बैठक, भेला गर्दा खुल्ला आकास मुनी, पाखा, चौरमा बस्न समस्या भएको र गाँउमा बालबालिकालाई खोप लगाउन समेत महिलाहरुलाई समस्या भएको भन्दै उक्त भवन निर्माण गरिएको महिलाहरुको भनाई छ ।
यस्तै अन्य सामुदायिक भवन, विद्यालय लगायतका स्थानमा कार्यक्रम गर्दा असजिलो हुने, कार्यक्रमहरु जुध्दा आफुहरुले कार्यक्रम गर्न समस्या हुने, झरी, बादलमा समस्या हुने गरेकाले ३ वडा का महिला समुहले संयुक्त रुपमा भवन निर्माण गरिएको उनिहरुले बताएका छन् ।
भवन निर्माण गाविसको लक्षित वर्ग तर्फको आर्थिक वर्ष २०७२/०७३ को गाविस परिषदबाट विनियोजित रकम १ लाख ५० हजार र आर्थिक वर्ष २०७३/०७४ को गाविस परिषदबाट विनियोजित रकम १ लाख ५० हजार र स्थानियको ऋण सहयोग रु १ लाख ५० हजार गरि कुल ४ लाख ५० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
भवन निर्माण गर्दा नपुग भएको रु १ लाख ५० हजार रकमका लागी अन्य स्रोत खोजी तथा सम्वन्धीत निकायमा पहल गर्ने निर्णय भएको अर्गेजाले जानकारी दिईन् ।
यसैगरी ढोरपाटन नगरपालिका वडा नं. ५ नाथुरीमा ब्यवसायिक कृषि उत्पादन तथा रोग नियन्त्रण सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ । जिल्ला कृषि विकास समिति बाग्लुङको आयोजना शुक्रवार देखि सुरु भएको उक्त तालिमको शनिबार समापन गरिएको हो ।
त्यस स्थानका ब्यवसायिक कृषकहरुको क्षमता अभिबृद्धिका लागि आयोजना गरिएको तालिममा त्यस स्थानका ३० जना कृषकहरुको सहभागित रहेको थियो ।
तालिममा कृषकहरुलाई तरकारी बालिका उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु, तरकारीबालीको विउ उत्पादन गर्ने तरिका, तरकारीबाली लगाउने तरिका, हुर्काउने तरिका र तरकारीबालीमा लाग्ने रोगहरु र यसका निराकरणमा ध्यान दिनुपर्ने कुराहरुको बारेमा ढोरपाटन नगरपालिका वडा नं. ५ र ६ का जे.टि.ए महेन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागि कृषकहरुले जिल्ला कृषि विकास कार्यलयले यस्तो खालको तालिमको सञ्चालन गरि धेरै कृषि सम्वन्धी धेरै कुरा सिक्ने मौका दिएको भन्दै खुशी ब्यक्त गरेका थिए । साथै तालिमबाट सिकेका कुरालाई आत्मसात गर्दै आगामी दिनमा कृषि ब्यवसायलाई थप ब्यवस्थीत गर्दै लैजाने बताएका थिए ।
उनिहरुले नाथुरीलाई कृषि उत्पादन क्षेत्रको रुपमा घोषणा गर्नका निम्ती सम्वन्धीत निकाय सम्म पहल गरिदिन जेटिए अधिकारीलाई आग्रह समेत गरेका छन् ।