गुमानसिँह भण्डारी, गल्कोट २०७४ असार ११ । गल्कोट नगरपालिका ११ रिघामा ७ घर र एक बिद्यालय पहिरोको उच्च जोखिममा परेका छन । निरन्तर रुपमा बर्षा हुन थालेपछि पहिरो खस्दा साबिक रिघा गाबिस वाड नम्बर ७ मनेवापाटाका ७ घर र एक बालज्योति प्राथमिक बिद्यालय पहिरोको जोखिममा परेको गल्कोट नगरपालिका ११ वडाका नवनिर्वाचित अध्यक्ष डम्बर श्रीसले बताए ।
गत महिना खसेको सुख्खा पहिरोले बर्षायाम सुरु भएसँगै ठुलो रुप लिन थालेको श्रीसले बताए । पहिरो मध्य पहाडी लोकमार्ग देखि करिब २ सय मिटर माथीसम्मबाट खसेको छ । दिनहु माटो बग्न थालेपछि पहिरोदेखि लगभग २, ३ सय मिटर माथी रहेका घर र बिद्यालय झर्न सक्ने स्थानिय लोकेन्द्र शाहीले बताए । दरमखोला हाईड्रो ईनर्जीले पाईप बिच्छाउनका लागी लोकमार्गको कुना भागको सतहलाई फराकिलो बनाईरहेका कारण पहिरोले बिशाल रुप लिईरहेको शाहीको ठम्याई छ ।
बर्षा याम सुरु भएका कारण निरन्तर पहिरो झर्ने गरेपछि बुर्तिबाङ, खर्वाङ, बागलुङ, काठमाडौ बाट आवतजावत गर्ने सवारी साधनहरु तथा यात्रुहरुलाई समस्या पर्ने गरेको छ ।